काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८१÷०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिवेदन प्रकाशित गरेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाले वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गरी अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था सन्तोषजनक रहेको पाइएको छ । संस्थाले व्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा चार करोड १४ लाख घाटा व्यहोरेकोमा यो त्रैमासमा उल्लेखनीय सुधार गरी छ करोड ४१ लाख व्याज आम्दानी गरी २० लाख ८१ हजार खुद नाफा कमाएको छ ।
त्यस्तै, नाफा कमाउँदा प्रतिसेयर आम्दानी एक दशमलव ५६ रहेको छ । खराब कर्जा असुलीमा पनि सुधार गर्दै संस्थाको खराब कर्जा पाँच दशमलव ५० प्रतिशतमा रहेको छ । निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले संस्थाको नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरूको आत्मबल साथै उत्प्रेरणा बढेकाले संस्थाको नाममा उल्लेख्य सुधार आएको हो ।
संस्थाले शाखा प्रमुख तथा कर्मचारी लगायतसम्पूर्ण फिल्ड सहायक कर्मचारीसहितको तालिम समेत आयोजना गरी कर्मचारीहरूको वित्तीय सुरक्षा मनोबल उच्च राखेको छ । यस अवधिभित्रमा यस वित्तीय संस्थाले देशभरिमा २६ जिल्लामा ५८ वटा शाखा कार्यालयमार्फत ४० हजार सात सय ३३ जान विपन्न घरपरिवारमा सेवा पुर्याउँदै दुई अर्ब १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।