काठमाडौं । शेयर बजार परिसुचक नेप्से २७ सय बिन्दुमा उक्लिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक एकैदिन ६९ दशमलव ८० अंकले उकालो लागेर २७ सय २७ दशमलव ५८ बिन्दुमा पुग्न सफल भएको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ६४ अंकले उकालो लागेर चार सय ५८ दशमलव ३७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३० वटा कम्पनीहरुको एक लाख ३० हजार नौं सय १३ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार एक सय ३६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।