लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । आइतबार मर्स्याङ्दी–८ स्थित भुलभुलेमा एक कार्यक्रमकाबीच उहाँले नवनिर्मित गाउँपालिकाको भवन उद्घाटन गरेको हो ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भने, “२८ वटा कोठाको तीनतले भवन सम्पन्न भएसँगै जनतालाई सेवा प्रवाह गर्न सहज हुने भएको छ ।” यसअघि साँघुरो ठाउँबाट सेवा दिनुपर्दा जनताले धेरै विविध दुःख समस्या भोगे पनि त्यो अब हट्ने उनको भनाइ छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिकाअन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहेको राससलाई बताए ।
गाउँपालिकाका अनुसार ठेकेदारले निर्धारित समयभन्दा करिब पाँच महिनाअघि भवन सम्पन्न गरेको छ । २०८२ साल जेठ २३ गतेसम्म समयसीमा तोकिएको थियो । कूल आठ करोड ९७ लाख ९६ हजार चार सय ७१ लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएकामा २०८० साल जेठ २३ गते पाँच करोड ९७ लाख ६६ हजार सात सय चारमा भवन निर्माणको सम्झौता गर्दै काम अगाडि बढेको थियो ।
गाउँपालिकाका अनुसार सङ्घीय सरकार र मस्र्याङ्दी गाउँपालिकाले ६०र४० लागत बेहोर्ने गरी भ्याटसहित पाँच करोड ९७ लाख ६६ हजार सात सय चारमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो । गाउँपालिकाको नयाँ भवन बनेसँगै स्थानीय खुसी भएका छन् ।