काठमाडौं । मुलुकको वस्तु तथा सेवा बजार निकै महँगो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको छ महिनाको तथ्यांकअनुसार महँगी बढ्दो क्रममा देखिएको छ ।
चालू आर्थिक वर्षको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) पाँच दशमलव ४१ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति पाँच दशमलव २६ प्रतिशत थियो । अर्थतन्त्रको भाषामा मुद्रास्फीति बढ्नु भनेको वस्तु तथा सेवाको मुल्य बढ्नु हो भने पैसाको क्रयशक्ति घट्नु हो ।
२०८१ पुस मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढेर सात दशमलव ६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव १९ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः पाँच दशमलव ७५ प्रतिशत र चार दशमलव ९३ प्रतिशत थियो । गत पुस मसान्तमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २८ दशमलव ५२ प्रतिशत, घ्यू तथा तेलको १० दशमलव ६७ प्रतिशत, दाल तथा गेडागुडीको नौ दशमलव ४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको सता दशमलव २३ प्रतिशतले बढेको छ । यस अवधिमा मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक तीन १२ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक नौ दशमलव ३५ प्रतिशत, मदिराजन्य पेय पदार्थको सात दशमलव शून्य एक प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव २९ प्रतिशतले बढेको छ । यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ६८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ३१ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव ७३ प्रतिशत, मधेश प्रदेशको पाँच दशमलव ९६ प्रतिशत, बागमती प्रदेशको पाँच दशमलव १४ प्रतिशत, गण्डकी प्रदेशको चार दशमलव ३७ प्रतिशत, लुम्बिनी प्रदेशको चार दशमलव ८३ प्रतिशत, कर्णाली प्रदेशको चार दशमलव ६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको पाँच दशमलव ६७ प्रतिशत रहेको छ । पुस महिनामा काठमाडौं उपत्यकाको मुद्रास्फीति पाँच दशमलव शून्य तीन प्रतिशत, तराईको पाँच दशमलव ६० प्रतिशत, पहाडको पाँच दशमलव ४१ प्रतिशत र हिमालको पाँच दशमलव २७ प्रतिशत छ ।
प्रतिवेदनअनुसार २०८१ पुसमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति चार दशमलव एक प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ३६ प्रतिशत थियो । उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः छ दशमलव ९२ प्रतिशत, दुई दशमलव ५५ प्रतिशत र तीन दशमलव १४ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति चार दशमलव २८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
रेमिट्यान्स सात खर्ब ६३ अर्ब भित्रियो
वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले पठाएको रेमिटयान्स बढ्दै गएको छ । यस आर्थिक वर्षको छ महिनामा विदेशमा काम गर्ने नेपालीले सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँबराबर रेमिट्यान्स पठाएका छन् । जुन एक वर्षअघिको तुलनामा चार दशमलव एक प्रतिशत बढी हो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह एक दशमलव एक प्रतिशतले बढेर पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव पाँच प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षको छ महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) भने आठ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय सात खर्ब ९९ अर्ब ५४ करोड थियो ।
पुससम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ३० हजार चार सय ३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६२ हजार छ सय २८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख छ हजार तीन सय ९० र एक लाख ३३ हजार नौ सय ४० रहेको प्रतिवेदनमा उल्लेख छ ।
शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । पुस मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब छ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ८२ करोडले बचतमा छ । समीक्षा अवधिमा मुुलुकको चालू खाता पनि एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब आठ करोडले बचतमा छ ।
चालू आवको पुस मसान्तसम्म खुद पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ११ करोड थियो । यसैगरी, समीक्षा अवधिमा छ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आप्रवाह चार अर्ब ५४ करोड रहेको छ ।
२३ खर्ब १६ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
विदेशी मुद्रा सञ्चिति बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव पाँच प्रतिशतले बढेर २०८१ पुस मसान्तमा २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १० दशमलव तीन प्रतिशतले बढेर १६ अर्ब ८४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा १२ दशमलव एक प्रतिशतले बढेर २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले बढेर दुई खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत छ ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना नौ दिनलाई पुग्ने वस्तु आयात र १४ महिना १२ दिनलाई पुग्ने वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४० दशमलव छ प्रतिशत, एक सय २० दशमलव तीन प्रतिशत र ३२ प्रतिशत छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत थियो ।
सेवा आय ४३ अर्ब रुपैयाँ घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले बढेर ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रुपैयाँ थियो । प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको छ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले बढेर एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । शिक्षातर्फको व्यय ५६ अर्ब ८३ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रुपैयाँ थियो ।