काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंंमा पत्रकार सम्मेलन गरी नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ स्मार्टफोनहरू सार्वजनिक गरेको हो ।
सामसङ नेपालका निर्देशक, प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका थिए । कार्यक्रममा सामसङ नेपालको निर्देशक प्रणय रत्न श्रेष्ठले सामसङले गत वर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको सुरुवात गरेको उल्लेख गर्दै अब ग्यालेक्सी एस२५ सिरिजको साथ एआईको अर्को चरणमा प्रवेश गरेको बताए । कम्पनीका अनुसार ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसङको एआई–फर्स्ट प्लेटफर्म वन युआई सात रहेको पहिलो स्मार्टफोन सिरिज हो । यस्तै, यस सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ ।
ग्यालेक्सी एस२५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ । यसले अघिल्लो पुस्ताको तुलनामा एनपीयुमा ४० प्रतिशत, सीपीयुमा ३७ प्रतिशत र जीपीयुमा ३० प्रतिशत प्रदर्शन सुधार प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, यसमा ताप व्यवस्थापन संरचनामा सुधार ल्याउन ४० प्रतिशत ठूलो भेपर चेम्बर र विशेषरूपमा डिजाइन गरिएको थर्मल इन्टरफेस मतेरिएल(टीआईएम) प्रयोग गरिएको छ । यस सिरिजले उच्च रिजोलुसन सेन्सर र प्रोभिजुअल इन्जिनमार्फत कुनै पनि एंगलबाट विस्तृत र जीवन्त तस्बिर खिच्न क्षमता दिँदै मोबाइल फोटोग्राफीमा नयाँपन स्थापित गरेको छ । ग्यालेक्सी एस२५ अल्ट्रा अहिलेसम्मकै सबैभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो । यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निङ गोरिल्ला अर्मर दुई समावेश गरिएको छ । ग्यालेक्सी एस२५ प्लस र एस२५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ । पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको हो ।
कम्पनीले उक्त स्मार्टफोनहरू सार्वजानिक गर्दै प्रि–अर्डरको लागी बिहीबारदेखि नै बुकिङ समेत खुला गरेको छ । यी फोनहरू फागुन १ गते सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछन् । प्रि–अर्डर गर्ने ग्राहकहरूले विभिन्न गिफ्ट तथा छुटहरू समेत पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२/२५६जीबीबाट १२/५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो भारी छुट मूल्यमा पाउनेछन् । कम्पनीका अनुसार ३१ हजार नौ सय ९९ रुपैयाँ रहेको ग्यालेक्सी बड्स३ प्रो १४ हजार नौ सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । साथै, तीन हजार तीन सय ९९ रुपैयाँ मूल्य रहेको सिलिकन कभर पनि एक हजार पाँच सय रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । यस्तै, ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्राको जस्तै ग्यालेक्सी बड्स३ प्रो र सिलिकन कभरमा छुट प्राप्त गर्न सक्ने छन् ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ अल्ट्रा दुई भेरियन्ट १२ जीबी/५१२ जीबी र १२ जीबी/२५६ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । यसको मूल्य नेपालमा क्रमशः एक लाख ९९ हजार नौ सय ९९ रुपैयाँ र एक लाख ८४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो फोन टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ह्वाइटसिल्भर, टाइटेनियम ब्ल्याक कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै, ग्यालेक्सी एस२५ प्लस नेभी, सिल्भर श्याडदा कलरमा १२ जीबी/२५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । यसको मूल्य एक लाख ४१ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
कम्पनीको ग्यालेक्सी एस२५ भने १२ जीबी/२५६ जीबी र १२ जीबी/१२८ जीबी स्टोरज क्षमतामा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः एक लाख १४ हजार नौ सय ९९ रुपैयाँ र एक लाख चार हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन आईसी ब्लु, सिल्भर स्याडो कलरमा पाइने कम्पनीले जनाएको छ ।