काठमाडौं । हुन पनि हामीमध्ये धेरै कमलाई मात्रै थाहा होला कि सन् २०२२ मा टर्की भन्ने देशको नाम फेरिएर ‘तुर्की–तुर्किए’ भइसकेको छ । तत्कालीन टर्की सरकारले आफ्नो देशको नाम अब ‘तुर्की–तुर्किए–तुर्किएँ’ भएको भनी संयुक्त राष्ट्र संघलाई चिठी लेखेरै आधिकारिकरूपमा जानकारी थिएको थियो । फलतः संयुक्त राष्ट्र संघले पनि आफ्नो आधिकारिक चिठीपत्रहरूमा र देशहरूको सूची निकाल्दाखेरि ‘टर्की’ नभनेर–नलेखेर ‘तुर्किए–तुर्किएँ’ लेख्न–भन्न थालेको छ । त्यसो त पुरानो नाम जुन थियो, ‘टर्की’ त्यो नाम आ–आफ्नो भाषाअनुसार उच्चारण गर्दा–बोल्दा अथवा भन्दा ‘तुर्क–तुर्कि–तुर्किए–तुर्किएँ’ भनी आ–आफ्नो भाषा र लवजमा फरक–फरक सुनिन सक्छ, बुझिन सक्छ । भनाइको मतलब सुन्न सकिन्छ । त्यसो भएको भए पनि आमनेपालीहरूले चाहिँ ‘टर्की’ नै भन्ने गरेको र नेपाली सञ्चारमाध्यमहरूले पनि ‘टर्की’ भनेरै लेख्ने–बोल्ने–भन्ने गरेको देखिन्छ–सुनिन्छ । तर असलियतमा ‘टर्की’को नाम ‘टर्की’ नभएर ‘तुर्की–तुर्किए–तुर्किएँ’ हो भन्ने कुरो अबदेखि सबै नेपालीहरूलाई चेतना भया !
माथिको टर्की भन्ने देशको नाम फेरिएर ‘तुर्की–तुर्किए’ भइसकेको प्रसंग यहाँ किन उल्लेख गरिएको हो भने हाम्रो देश नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिका भाषामा रहेका नामहरू (पहिले र अहिले पनि खसकरण र हिन्दु देवी–देवताको नाममा नामकरण गरिएका अनि राजा महाराजा, युवराज आदिका नाममा विस्थापित भएका) नामहरू पुनः आदिवासी जनजातिका भाषामा राख्नका लागि सक्दो चाँडो पहल गरौँ भन्ने आशय हो । अझ पहल गरौँ भन्ने मात्रै होइन, सुरुवात नै गरिहालौँ भन्ने हो । किनभने हाम्रो देशमा राष्ट्रवादी कामरेडहरूको कुनै कमी रहेको छैन । हाम्रो देशमा राष्ट्रवादी कामरेडहरूको कुनै कमी नरहेको मात्रै होइन अति राष्ट्रवादी कामरेडहरूले पनि जगजगी रहेको छ । त्यसैले परापूर्व कालदेखि स्थानीयरूपमा बसोबास गर्दै आएका आदिवासी जनजातिका रैथाने भाषामा रहेका ‘टिपिकल’ र, अर्थपूर्ण नामहरू पुनःस्थापित गरौँ । त्यसैले यो लेखमा खास गरिकन नेपालमा विदेशी भाषाले अतिक्रमण गरेका नेपालका केही हिमाल र स्थान नामहरूका बारेमा र नेपालकै खस भाषा (अहिले राष्ट्र भाषा)मा रहेका नामहरूका सम्बन्धमा छोटोमा केही लेख्ने प्रयास गरिएको छ ।
जस्तो कि समुन्द्री सतहदेखि नाप्दाखेरि हालसम्मको विश्वकै अग्लो हिमचुचुरो मानिएको सगरमाथा हिमालकै कुरो गरौँ । जुन हिमशिखरलाई परापूर्वकालदेखि नै स्थानीयरूपमा बस्दै आएका कुलुङ, शेर्पालगायतका आदिवासी जनजातिहरूले स्थानीयरूपमा बोलाउँंदै आएको नाम ‘चोमोलुङ्मा’ हो । त्यस्तै, सो हिमशिखरको उत्तरतर्फका मानिसहरू (तिब्बती जनता)ले पनि सो हिमशिखरलाई ‘चोमोलुङमा’ नामले नै चिन्छन्/‘चोमोलुङ्मा’ भनेरै बोलाउँछन् । यसरी हेर्दा सम्भवतः सो हिमशिखरको वरिपरि बस्दै आएका मानिसहरूले सुरुदेखि नै सो हिमशिखरलाई ‘चोमोलुङ्मा’ नामले पुकार्दै/बोलाउँदै आए होलान् । यसरी हेर्दा परापूर्वकालदेखि नै ‘चोमोलुङ्मा’ नामले चिनिँदै आएको हिमशिखरलाई विसं २००९/१० तिर ‘सगर+माथा’ दुई शब्द जोडेर ‘सगरमाथा’ भनी नयाँ खस नेपाली नाम दिइयो । अर्थात् खस/नेपाली/गोरखा भाषामा ‘चोमोलुङ्मा’ हिमशिखरको नयाँ ‘सगरमाथा’ भनी नामाकरण गरियो । फलतः हाल चोमोलुङ्मा नामले भन्दा पनि सगरमाथा र एभरेस्ट नामले बढी चिनिन्छ । यसरी नयाँ नेपाली भाषाको नाम दिने व्यक्ति थिए, इतिहासकार बाबुराम आचार्य ।
के भनिन्छ भने त्यो बेला चोमोलुङमालाई ‘चरी लमेनी’ भनेर पनि चिनिन्थ्यो भने लगभग डेढ दर्जन अन्य नामहरू रहेका थिए, ‘चोमोलुङमा’ हिमशिखरको । सुरुका दिनमा आधिकारिकरूपमा चोमोलुङमाको उचाइको सम्पूर्ण नाप–जाँचको काम भने भारतीय (बंगाली) नागरिक राधानाथ सिकन्दर/सिक्दर र नेपाली नागरिक करवीर बुढाथोकीले गरेका थिए । तर, त्यसको जस भने तत्कालीन ब्रिटिस इन्डियाका सर्भेयर जनरल जर्ज एभरेस्टले पाएका थिए । अर्थात्, चोमोलुङमाले अर्को नयाँ नाम पायो ‘माउन्ट एभरेस्ट’ जुन नाम तत्कालीन ब्रिटिस इन्डियाका सर्भेयर जनरल जर्ज एभरेस्टको सम्मानमा राखिएको थियो । त्यति मात्रै होइन, त्यही बेला सगरमाथा नै संसारको अग्लो हिमशिखर हो भनी विश्वभरिका हिमालको खोजकर्ताहरूले स्वीकार गरे । संँगसँंगै चोमोलुङ्मामाथि पहिलो मानव विजय पाउने होडजोडतोडका साथ चल्न थाल्यो ।
यसरी खोज्दै जाने हो भने केवल सगरमाथा मात्रै होइन, नेपालका धेरै हिमाल र स्थान नामका स्थानीय, खासगरी आदिवासी जनजातिका भाषामा रहेका विभिन्न हिमालका नामहरू विदेशी र नेपाली (खस) भाषाले विस्थापन वा भनौँ अतिक्रमण गरेको भेटिन्छन् । त्यसमा पनि विशेषतः अंग्रेजी नामले साम्राज्य चलाएको छ । जस्तै, चोमोलुङकै कुरा गरौँ । माथि नै भनियो कि चोमोलुङ्मा हिमशिखरलाई माउन्ट एभरेस्ट र सगरमाथालगायतका नामहरू दिइयो । यसै क्रममा विसं २०१० (सन् १९५३) मा तेन्जिङ नोर्गे शेर्पा (नेपाल) र एडमन्ड हिलारी (तत्कालीन बेलायती उपनिवेशअन्तर्गत न्युजील्याण्ड निवासी) ले चोमोलुङ्मामाथि प्रथम मानव विजय पाए । त्यसपछि माथि नै भनिएझैं जातीयताको आधारमा फेरि (खस) नेपाली भाषामा नयाँ नाम राखियो ‘सगरमाथा’ हो । विस्तारै चोमोलुङ्माको अनेकौं नामहर रहे । त्यसो भए पनि अहिले सगरमाथा र एभरेस्टको नामले बढी चिनिन्छ । तापनि विगतमा विदेशी लेखकहरूले लेखेका पुराना किताबहरू जति पनि छन् । ती सबै किताबहरूमा ‘चोमोलुङ्मा’ भनेरै लेखेको पाइन्छ । तर, नेपालका धेरैजसो मिडियाकर्मीहरूले अझै पनि ‘चोमोलुङ्मा’ नामलाई ‘चोमोलुङ्मा’ नभनेर/नलेखेर ‘सगरमाथा’ नामलाई नै महत्व दिइरहेका छन् । बरु उनीहरू कुनै धक नमानी भन्छन्, ‘चोमोलुङमा’ नाम त ‘भोटे’ नाम नाम होइन र ?
जे होस्, पूर्वमा रहेको कुम्भकर्ण हिमशिखरको स्थानीय नाम ‘जान्नु’ हो । लिम्बु जातिले उक्त हिमशिखरलाई ‘फक्ताङलुङ’ (कुम भएको ढुंगो) भनी पुकार्छन् भने हिउँद याममा धानलगायतका अन्नपात भित्र्याउँदा फक्ताङ्लुङमा रहेको हिउँको थुप्रोलाई सह मानी धानको रासमाथि फक्लाङ्तुङतर्फ फर्काएर हँसिया, धुपौरो, फूल, अक्षता, कुखुराको भाले (जसलाई रासी भाले भनिन्छ) राखेर पूजाआजा गरिन्छ । त्यस्तै, कञ्चनजंघा हिमशिखरलाई लिम्बुहरूले सेवालुङ/सेन्छेलुङ भन्ने गर्छन् भने यस क्षेत्रमा अंग्रेजी नामको अर्को हिमशिखर छ, ‘टेन्ट–पिक’ उक्त हिमशिखरलाई खासमा ‘किराँत चुली’ भनिन्छ । मकालु हिमशिखरलाई कुलुङ जातिले ‘सेसेलुङ’ भन्छन् ।
लाङटाङ क्षेत्रमा लाङटाङ–री र याला पिकको पछाडि रहेको एउटा सानो हिमशिखर (५,९५१ मिटर अग्लो) छ । जुन हिमशिखर मोरीमोतो नामक जापानिजले पहिलोपटक चढ्न प्रयास गरेकाले उक्त हिमशिखरको नाम ‘मोरीमोतो’ राखे, जापानीजहरूले । त्यस्तै, डोम–ब्लँ (६,८२० मिटर) फ्रेन्च भाषामा ‘सेतो’ भनेर राखिएको हिमशिखर छ, अन्नपूर्ण प्रथमको पूर्व–दक्षिणमा । उक्त क्षेत्रमा अन्य हिमशिखरहरू भने प्रायः स्थानीय नाममा नै आधारित छन् । त्यस्तै, पिक–२९, हिमशिखर ७,८७९ मिटर अग्लो हिमशिखरको खास नाम ‘ङादी चुली’ हो भने उक्त पिकको नयाँ नाम भूगोलविद् डाक्टर हर्क गुरुङको नाममा ‘हर्क पिक’ राखिएको छ । उता मनास्लु हिमशिखरको स्थानीय नाम (प्याङगेन पुथाङ) हो । पिसाङ पिक नामक हिमशिखरको स्थानीय नाम झोङ–री (६,०९२ मिटर) हो ।