काठमाडौं । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले पोखरामा पहिलो पटक वाडा अटो सो आयोजना गर्ने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सहयोगमा चैत्र १३ देखि १७ सम्म पोखरामा वाडा अटो सो हुने भएको हो ।
काठमाडौंमा नाडाले आफनो संस्थागत सदस्य वाडाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सम्मानमा आयोजित कार्यक्रममा वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले उक्त सोका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उनले अटो सो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगका लागि औपचारिकरूपमा आग्रह गरेका थिए । उक्त छलफलमा वाडा अटो सो आयोजना गर्ने मिति तया गरिएको हो । त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययनगरी त्यसको सर्वे रिपोर्टको आधारमा अन्य कार्यहरूलाई अघि बढाउने निर्णय गरेको जनाइएको छ । नाडाले मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ । सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले वाडा अटो सो गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
नाडाले सन् १९९८ देखि नाडा अटो सो हरेक वर्ष राजधानीमा आयोजना गर्दै आएको छ । १६औँ संस्करणको नाडा अटो सो २०२४ समेत गत भदौ महिनामा भृकुटीमण्डपमा सम्पन्न गरेको थियो । यसैक्रममा नाडाले अन्य प्रदेशहरूमा पनि अटो सो आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्न लागेको छ ।