मनाङ । मनाङमा चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जनाएको छ ।
आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ । अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ । भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको आचार्यले बताए ।
यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । उनले भने, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, वनजङ्गलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ । सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ”
सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजङ्गलमा आगलागी भइरहेको बताउदै प्रमुख भुजेलले सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको बताए । उनका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ ।
कार्यालय प्रमुख भुजेलका अनुसार यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको छ । चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा आगलागीका कारण प्रभाव पार्ने भन्दै उनले चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नाश हुने सम्भावना भएको बताए । २०७७ साल मङ्सिर २ गतेदेखि लागेको आगोले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । दुई महिनापछि मात्रै सो आगो नियन्त्रणमा आएको थियो ।