काठमाडौं । सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरणसम्बन्धी जानकारीमूलक तालिम दिएको छ । कम्पनीले आफ्ना बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रियस्तरको एएमएल, सिएफ्टी (एन्टी मनी लाउन्ड्रिङ एन्ड कम्ब्याटिङ द फाइनान्सियल टेरोरिजम) अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ १८ गते काठमाडौंस्थित अमृतभोग क्याटरिङमा आयोजना गरिएको थियो, जसमा दुई सयभन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सन्नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उद्योगका वर्तमान प्रवृत्तिहरू र व्यावसायिक नैतिकतासम्बन्धी मार्गदर्शन प्रदान गरेका थिए । साथै, उनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथामसम्बन्धी नीतिहरू, नियमनकारी निकायहरूद्वारा लागू गरिएका नयाँ प्रावधानहरू तथा बीमा प्रतिनिधिहरूले अवलम्बन गर्नुपर्ने नैतिक व्यापार अभ्यासहरूबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए ।
कम्पनीले आफ्नो सम्पूर्ण अभिकर्ता तथा शाखा व्यवस्थापकहरूलाई अद्यावधिक ज्ञान प्रदान गर्दै वित्तीय पारदर्शिता, नैतिक व्यापार अभ्यास तथा नियम–कानुनको पालना गर्ने संस्कार विकास गर्ने प्रतिबद्धता जनाएको छ । बीमा व्यवसायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउनका लागि यस्ता अभिमुखीकरण कार्यक्रमहरू आवश्यक छन् भन्ने संस्थाको विश्वास रहेको छ ।