काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ र लुम्बिनी सेरामिक्सबीच सम्झौता भएको छ । लुम्बिनी सेरामिक्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक गर्नको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
लामिनार टाइल्स नेपालको पहिलो र एक मात्र शतप्रतिशत भिट्रीफाइड टाइल्स हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेडअन्तर्गत पर्दछ । लामिनार टाइल्स नेपाली उपभोक्ताहरूका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरू प्रदान गर्ने र उच्च गुणस्तरको टाइल्सहरू उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरु गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२ दशमलव पाँच बिघा क्षेत्रफलमा फैलिएको छ ।