काठमाडौं । टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्रान्डको नयाँ संस्करण ‘नेक्सन केथ्री ईभी’को नेपाली बजारमा सार्वजानिक गरेको छ । टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहका बीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेको हो ।
यस्तै कम्पनीले बिक्रीका लागि बुकिङ पनि खुला गरेको छ । कम्पनीका अनुसार नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधाहरूले सम्पन्न रहेको छ । नेक्सन केथ्री ईभीको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै, सुरुवाती अफरमा ग्राहकहरूलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सिप्रदी र टाटा मोटर्सबीचको सहकार्यमा पहिलो पटक विद्धुतीय गाडी नेक्सन ईभी प्राइम २०२१ मा नेपालमा बिक्री/वितरण सुरु गरिएको जानकारी दिए । सिप्रदीले नेपालको सबैभन्दा ठूलो ईभी इको सिस्टममा लगानी गरी १८५ भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाइएको छ ।