काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एन्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुनुको साथै स्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पु¥याउन मद्दत गर्ने विश्वास व्यक्त गरे । इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एन्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताउँदै यस सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्याउने समेत जानकारी दिए ।
‘बजेट ३६०’ स्वचालितरूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । इन्फोडेभलपर्सले विकास गरेको यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्र्याकिङलगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ । यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस)सँग सहजरूपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको छ ।
उक्त कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत, सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत, चन्द्रराज शर्मा र इन्फोडेभलपर्स प्रालिको तर्फबाट कर्पोरेट म्यानेजर, सुवास पौडेलको समेत उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५५ वटा शाखा कार्यालय, तीन सय ७९ एटीएम, दुई सय ३७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।