काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिस्पर्धी बजारमा अहिलको पाराले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) चल्न नसक्ने बताएका छन् । टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमको आम्दानी वर्षेनि घट्दै गएको र निजी क्षेत्रबाट सञ्चालित कम्पनी अगाडि आइरहेको बताए ।
टेलिकमले आफ्नो कामको गहिरो गरी समीक्षा गरी बढ्दो प्रविधिको प्रयोगलाई अवलम्बन गर्दै सेवा विस्तार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । ‘सरकारी कम्पनीमध्ये टेलिकमप्रति हामीले गर्व गरिरहेका छौँ । तर प्रतिस्पर्धी बजारमा यही तरिकाले टेलिकम चल्दैन, यही बेलामा हामीले समीक्षा गर्न सकिएन भनेपछि पछुतो हुन सक्छ’, उनले भने । यस्तै उनले जनताप्रति उत्तरदायी बनाउनका लागि टेलिकममा कम्तीमा २५ प्रतिशत सेयर जनताको हुनुपर्ने बताए । यस्तै, उनले अहिले पनि ग्रामीण स्थानमा टेलिकमको टावरको समस्या भइरहेको बताउँदै गुणस्तरीय र प्रभावकारी सेवामा ध्यान दिन टेलिकमका कर्मचारीलाई निर्देशन दिए ।
‘सुशासनसँग जोडिएको विषय इ–गभर्नेन्स हो, त्यसको लागि फोर–जी गाउँ–गाउँमा पुग्नुप¥यो, त्यसो गरेको खण्डमा यो क्षेत्रको विकास धेरै हुन्छ’, उनले भने । बढी जनसंख्या भएको मधेशका २२ वटा जिल्लामा अहिले पनि टेलिकमको उपस्थिति कमजोर रहेको उनले बताए । यो वर्ष मधेशमा पर्याप्त टेलिकमको पूर्वाधार विकास गरी अवरोधरहित सेवा–प्रवाह गर्न पनि उनले निर्देशन दिए । कार्यक्रममा उनले सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नका लागि सरकारले ‘सामाजिक मिडिया प्रयोग र नियमन गर्ने विधेयक’ संसद्मा दर्ता गरेको बताए । नेपाललाई ‘आईटी हब’को रूपमा विकास गर्नका लागि सञ्चार, सूचना र प्रविधिसँग जोडिएका अन्य ऐन÷कानुन निर्माण तथा संशोधन गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।
सञ्चार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष राधिका अर्यालले भौगोलिकरूपमा अत्यन्त विकट गाउँमा टेलिकमले सेवा विस्तार गरिरहेको जानकारी दिइन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम हालसम्म अग्रणी भूमिकामा रहेको दाबी गरे । यस्तै, सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवालले प्रतिस्पर्धी वातावरणमा कम्पनीको स्थायित्वको लागि मन्त्रालयलगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रूपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरेको बताए ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीले मुलुकको ७७ वटै जिल्लामा फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएको जानकारी दिइन् । सो सेवापछि ग्राहक र फोरजी डाटाको खपत पनि उल्लेखनीयरूपमा वृद्धि भइरहेको जानकारी दिइन् । उनका अनुसार हाल कुल मोबाइल डाटा खपतको ९० प्रतिशतभन्दा बढी हिस्सा फोरजी सेवाले ओगटेको छ । यस्तै, उनले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत जडान भएका अप्टिकल फाइबर नेटवर्कहरूको सह–प्रयोगको थालनी गरिएको, हाइवे नेटवर्क सुधारको कार्य निरन्तर अगाडि बढिरहेको र यथाशीघ्र फाइभजी प्रविधि भित्र्याउनेतर्फ प्राथमिकताका साथ कार्य भइरहेको जानकारी दिइन् ।
साथै, कम्पनीले वार्षिकोत्सवको अवसरमा भोवाईफाई सेवा व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको छ । यस्तै, टेलिकम एप र वेबसाइटमार्फत सजिलै ई–सिम प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक पहाडीले जानकारी दिइन् ।