नैरोबी । सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिकरूपमा विस्थापित व्यक्ति (आईडीपी) को संख्या बढेर दुई करोड ७५ लाख पुगेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।
संयुक्त राष्ट्र आप्रवासन एजेन्सीले अक्टोबर सन् २०२४ मा यो संख्या दुई करोड ४२ लाखबाट बढेको बताएको छ । ‘सुडानमा आईडीपीको वृद्धि देशका धेरै राज्यहरूमा चलिरहेको द्वन्द्व तथा भारी वर्षा र आगलागीका कारण भएको हो’, आईओएमले जनाएको छ ।
एजेन्सीले गत वर्ष अक्टोबर २० र नोभेम्बर १३ को बीचमा अल जजीरा राज्यमा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सहरूबीचको झडपका कारण अनुमानित ६८ हजार आठ सय एक परिवारहरू विस्थापित भएको उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रको आप्रवासन एजेन्सीले कथितरूपमा सात विभिन्न राज्यका ३८ क्षेत्रहरूमा व्यक्तिहरू विस्थापित भएको बताएको छ । ‘विस्थापित व्यक्तिहरूमध्ये, १५ हजार १२९ आईडीपी थिए’, आईओएमले उल्लेख गरेको छ ।
आईडीपी जनसंख्याको उच्च संख्या भएका अन्य देशहरूमा सोमालिया ३५ लाख, इथियोपिया ३३ लाख र दक्षिण सुडान २० लाख छन् । आईओएमका अनुसार विस्थापनका मुख्य कारण विशेषगरी इथियोपिया, केन्या र सोमालियामा द्वन्द्व, बाढी, खडेरी र खाद्यान्न असुरक्षा हुन् । रासस/सिन्ह्वा