काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसके पनि सरकारको राजस्व सङ्कलनमा भने सुधार हुँदै गएको देखिएको छ । पछिल्लो तीन वर्षमा राजस्व सङ्कलनको वृद्धिदर धनात्मक रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिलाई तुलना गर्दा १० देखि ११ प्रतिशतको वृद्धिदर देखिन्छ । आर्थिक वर्षको २०७९/८० को मंसिरसम्म राजस्व सङ्कलन तीन खर्ब २६ अर्ब ८९ करोड, आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म तीन खर्ब ६३ अर्ब ४२ करोड र आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म तीन खर्ब ९९ अर्ब ५९ करोड छ । जसमा कर र गैरकरको हिस्सा क्रमशः आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब एक अर्ब ४६ करोड र २५ अर्ब ४२ करोड, आर्थिक वर्ष २०८०/८१ मा तीन खर्ब ३७ अर्ब १८ करोड र २६ अर्ब २४ करोड र आर्थिक वर्ष २०८१/८२ मा तीन खर्ब ६२ अर्ब ५८ करोड र ३७ अर्ब एक करोड रहेको छ । कर र गैरकर शीर्षकमा निरन्तर राजस्व वृद्धि भएसँगै कुल राजस्व सङ्कलन समेत धनात्मक देखिएको हो ।
मन्त्रालयका अधिकारीहरूका अनुसार कोभिड १९ महामारी पश्चात उच्च दरले वृद्धि भएको राजस्व आर्थिक वर्ष २०७९/८० मा आएर खुम्चिएको हो । उक्त आर्थिक वर्षपछिको समयमा भने राजस्व सङ्कलन निरन्तर सुधार हुँदै चालू आर्थिक वर्षको पहिलो पाँच महिनमा राजस्व वृद्धिदर १० प्रतिशत रहेको अधिकारीहरूको भनाइ छ । राजस्व सङ्कलन आर्थिक वर्ष २०७७/७८ मा तीन अर्ब एक अर्ब २८ करोड, आर्थिक वर्ष २०७८/७९ मा चार खर्ब १२ अर्ब ४० करोड रहेको थियो । ती वर्षहरूमा क्रमशः कर र गैरकर शीर्षकमा दुई खर्ब ८४ अर्ब ५८ करोड , तीन खर्ब ८० अर्ब २३ करोड र १६ अर्ब ७० करोड र ३२ अर्ब १७ करोड राजस्व सङ्कलन भएको छ ।
चालू आर्थिक वर्षको मंसिरसम्म मूल्य अभिवृद्धि कर (भ्याट) स्वरुप एक खर्ब २५ अर्ब १४ करोड सङ्कलन गरिएको छ । जुन लक्ष्यको तुलनामा ८१ प्रतिशत हो । मंसिरसम्मका लागि एक खर्ब ५३ अर्ब ७२ करोडको लक्ष्य राखिएको थियो । सोहि अवधिमा भन्सार महसुल ८५ अर्ब ८९ करोड, आयकर ८० अर्ब ८९ करोड, अन्तःशुल्क कर ६९ अर्ब १५ करोड र गैरकर ३७ अर्ब एक करोड सङ्कलन गरिएको छ । जुन लक्ष्यको तुलनामा भन्सार महसुल ७१ प्रतिशत, आयकर ७९ प्रतिशत, अन्तःशुल्क कर ९० प्रतिशत र गैरकर ८७ प्रतिशत रहेको छ । मंसिरसम्म भन्सार महसुल एक खर्ब २० अर्ब २६ करोड, आयकर एक खर्ब एक अर्ब २५ करोड, अन्तःशुल्क कर ७६ अर्ब ४५ करोड, र गैरकर ४२ अर्ब ५१ करोड सङ्कलनको लक्ष्य राखिएको थियो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनमा विभिन्न शीर्षकको राजस्व सङ्कलन भने वृद्धिदर रहेको पाइन्छ । गत आर्थिक वर्षको मंसिरसम्म मूल्य अभिवृद्धि कर एक खर्ब १५ अर्ब ३५ करोड, भन्सार महसुल ७९ अर्ब ५९ करोड, आयकर ८४ अर्ब २२ करोड, अन्तःशुल्क कर ५६ अर्ब ६७ करोड र गैरकर २६ अर्ब २४ करोड सङ्कलन गरिएको थियो । भन्सार महसुलअन्तर्गत पैठारी, निकासी, पूर्वाधार, भन्सारको अन्य आय, कृषि सुधार शुल्क, सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर समावेश गर्दै आएको छ ।
समीक्षा अवधिमा शिक्षा सेवा शुल्क सङ्कलन लक्ष्यभन्दा बढी भएको छ । यस अवधिको कुल राजस्व लक्ष्यको ८० प्रतिशत अर्थात् एक अर्ब ४९ करोड सङ्कलन भएको छ भने वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व सङ्कलन भएको छ । मंसिरसम्म शिक्षा सेवाशुल्क सङ्कलन लक्ष्य ८० अर्बको लक्ष्य राखिएको थियो । चालू आर्थिक वर्षको मंसिरसम्म ब्याज कर १४ अर्ब ९८ करोड सङ्कलन भएको छ । सो अवधिमा ब्याज करको सङ्कलन लक्ष्य २१ अर्ब ३० करोड रहेको छ । योसँगै चालू आर्थिक वर्षको मंसिरसम्म ब्याज कर सङ्कलन १३ प्रतिशतले कमी आएको छ भने अन्य शीर्षकको राजस्व सङ्कलनमा वृद्धिदर रहेको छ । ब्याजदर घट्दै गएसँगै ब्याजकरतर्फको आयकर सङ्कलनमा सङ्कुचन आएको बताउँछन् ।