सोलुखुम्बु । सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन तल्लो सोलु खोला हाइड्रोपावर परियोजनाको भौतिक प्रगति ९५ प्रतिशत पूरा भएको छ । तल्लो सोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ८२ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्यको अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको विद्युत् उत्पादनका लागि आवश्यक प्रमुख संरचनाहरू जेनेरेटर, टरबाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङ मार्गलगायतका कार्य लगभग सम्पन्न भएको कम्पनीका प्रबन्धक धमेन्द्र गोतामेले बताए । हाल आयोजनाले पेनस्टक टनेलको ‘बेक थ्रु’ गर्ने कार्य गरिरहेको छ । ‘आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको काम पूरा गर्न मात्र बाँकी छ । बाँकी कार्यहरू लगभग सम्पन्न भइसकेका छन् ।’ आगामी साउन–भदौभित्र व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए । आयोजनाको ट्रान्समिसन लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।
सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ । उक्त पानी करिब छ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ । यसका लागि पाँच किलोमिटर लामो सुरुङ मार्ग निर्माण गरिएको छ । एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को १६ अर्ब रुपैयाँ ऋण लगानीमा सन् २०१६ अगस्टदेखि निर्माण कार्य थालिएको थियो । तर भौगोलिक कठिनाइ र लामो सुरुङ मार्गका कारण लागत अनुमानितभन्दा बढ्न सक्ने कम्पनीको भनाइ छ । आयोजना निर्माण सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ, जसले राष्ट्रिय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । परियोजनाको सफलताले सोलुखुम्बु क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ । स्थानीय जनशक्तिको संलग्नता, वातावरणीय प्रभाव न्यूनीकरणका उपायहरू तथा परियोजनाको दिगो व्यवस्थापनबारे कम्पनीले आवश्यक रणनीति अवलम्बन गरिरहेको बताइएको छ । यस आयोजनाको समयमै सम्पन्न हुने हो भने यसले नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।