काठमाडौं । विराटनगरको सहिद रंगशालामा नवौं संस्करण विराट गोल्डकप हुने भएको छ । फागुन १९ गतेदेखि हुने विराट गोल्डकपलाई सफल पार्न आयोजकले विभिन्न आकर्षक कार्यक्रमहरूको समेत घोषणा गरेको छ ।
आयोजकका अनुसार विराट गोल्डकप हेर्न खेल मैदान छिरेका दर्शकबाटै प्रत्येक दिन ‘मिस विराट गोल्डकप’ घोषणा गरिने छ । दर्शकदीर्घाबाट मिस विराट गोल्डकप छनौट भएकी विजेतालाई विशेष सम्मानका साथ मञ्चमा क्राउन र फ्ल्याससहित सम्मान गरी आसन ग्रहण गराइने जनाइएको छ । विराट गोल्डकप संयोजक नवीन रिजालका अनुसार त्यसका लागि छनौट समिति समेत गठन गरिएको छ । खेलप्रति युवाहरूको आकर्षण बढाउनका लागि यो र यस्तै अन्य योजनाहरू विस्तारै घोषणा गरिने छ । विराटगोल्डकप ट्रस्टको बैठकले मंगलबार यस वर्षको टुर्नामेन्ट आयोजना गर्न रिजाललाई संयोजक तोकेको थियो । संयोजकको जिम्मेवारी पाएलगत्तै रिजाल तयारीमा जुटेका छन् । रिजालले यसअघि २०७४ सालमा आयोजित विराटगोल्डकपको समेत संयोजक भएर रात्रिकालीन गोल्डकपको सफल आयोजना गरिसकेका छन् । उनले बाँसमा फ्लड लाइट राखेर विनापूर्वाधार नै रात्रिकालीन विराटगोल्डकप सञ्चालन गरेपछि विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले स्थायी फ्लड लाइटको व्यवस्था गरेका थिए ।
विराटनगरमा रात्रिकालीन गोल्डकप सम्पन्न भएपछि कोशी प्रदेशका अन्य जिल्लाहरूमा समेत रात्रीकालीन फुटबल प्रतियोगिताहरू हुन थालेका छन् । विक्रम संवत् २०१८ सालमा महेन्द्र गोल्डकपका रूपमा स्थापना भएको यो ऐतिहासिक गोल्डकपलाई २०६८ सालमा नाम परिवर्तन गरी विराट गोल्डकप राखिएको हो । नौ दिनसम्म सञ्चालन हुने खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १० वटा टिमको सहभागिता हुनेछ । दुई वर्षदेखि लगातार घाटामा रहेको गोल्डकप नवीन रिजालको संयोजकत्वमा नाफामा जाने अपेक्षा गरिएको छ । रिजाललै संयोजकत्वमा २०७४ सालमा विराट गोल्डकप आयोजना हुँदा सात लाख नाफामा गएको थियो ।