काठमाडौं । जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी किशोरीहरूलाई विद्यालयका कक्षा–कोठामै पुगेर पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’(एचपीभी) खोप लगाउन थालिएको छ । जनस्वास्थ्य कार्यालय दोलखाले जिल्लाका नौ पालिकाका कक्षा ६ देखि १० सम्म अध्यनरत किशोरी तथा विद्यालय नजाने १०÷१४ वर्ष उमेर समूहका किशारीहरूलाई मंगलबारदेखि एचपीभी खोप दिन सुरु गरेको हो । जनस्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्कअनुसार मंगलबार तीन हजार छ सय ५१ जना किशोरी विद्यार्थीलाई खोप लगाइएको थियो भने बुधबार एक हजार चार सय ६९ जना किशोरी विद्यार्थी तथा विद्यालय नजाने किशोरीहरूलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी भवन भाटले बताए ।
दुई दिनको अवधिमा जिल्लाका पाँच हजार एक सय २० जनालाई खोप लगाइएको छ भने बाँकी रहेका विद्यालयमा माघ २६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । जनस्वास्थ्य कार्यालयले यस वर्ष पहिलो चरणमा जिल्लाभरका छ हजार पाँच सय ३० जना विद्यालय छात्रा किशोरी तथा विद्यालय नजाने किशोरीलाई खोप दिने जनाएको छ । कार्यालयले खोप लगाउन खोप केन्द्रसम्बन्धी विद्यालयमा एक सय ५९ र अन्य स्वस्थ्य संस्थामा ७० वटागरी दुई सय २९ वटा खोप केन्द्रमार्फत खोप सञ्चालन गरेको छ । खोप लगाउन सम्बन्धित पालिकाका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र विद्यालय नर्सहरूलाई खोपकर्ताको रूपमा प्रत्येक विद्यालयमा खटाएको छ । विद्यालयमै क्यान्सरजस्तो जटिल रोगको खोप लगाउन पाएपछि जिल्लाका किशोरी विद्यार्थीहरू हर्सित हुँदै खोप कार्यक्रममा सहभागी भएका छन् ।