काठमाडौं । नेपालको फुड डेलिभरी कम्पनी फुडमान्डुको ग्रोसरी डेलिभरी सेवा फुडमान्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । अब उक्त क्षेत्रका ग्राहकहरूको दैनिक आवश्यक सामानहरूको किनमेल अझ सहज हुने भएको छ ।
सुरुवातमा वानमार्टको सेवा गैरीधाराको तीन किलोमिटर क्षेत्रभित्र सीमित रहेको थियो । अब ललितपुरको सानेपाबाट चार किलोमिटरको क्षेत्रमा यो सेवा फैलिएको छ, जसमा जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैँसेपाटी, नख्खु र बालकुमारी क्षेत्र समावेश रहेका छन् । यी क्षेत्रका ग्राहकहरूले अब सात सयभन्दा बढी गुणस्तरीय सामानहरू सजिलै अर्डर गरी तुरुन्त र भरपर्दो डेलिभरी प्राप्त गर्न सक्नेछन् । फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमान्डु वानमार्टले गुणस्तरीय सामानको तुरुन्त डेलिभरीका साथ साथै झन्झटमुक्त किनमेलको अनुभव प्रदान गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखेको बताए । कम्पनीले आगामी दिनहरूमा अन्य धेरै क्षेत्रहरूमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना बनाएको छ ।