वासिङ्टन । अमेरिकी दातृनिकाय यूएसएआईडी (यूएसएड)ले मंगलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक विदामा राख्ने घोषणा गरेको छ ।
यूएसएडले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार कर्मचारी विदा फेब्रुअरी ७ को मध्यरातअघि सुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहान्तमा बन्द भएपछि मंगलबार पुनः देखापरेको थियो ।
प्रशासनिक विदाले ‘मिसन–क्रिटिकल कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूका लागि जिम्मेवार तोकिएका कर्मचारीहरू बाहेक... सबै युएसएड प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई’ प्रभावित गर्नेछ । “तपाईंलाई सेवाका लागि धन्यवाद”, विज्ञप्तिमा उल्लेख छ ।
यो कदम ट्रम्प र उनका अर्बपति सहयोगी एलन मस्कको अमेरिकी सरकारलाई संकुचित गर्ने आमूल अभियानको एक हिस्सा हो । यसले वासिङटनलाई स्तब्ध पारेको छ र डेमोक्रेट तथा मानवअधिकार समुदायबाट आक्रोशपूर्ण विरोध निम्त्याएको छ ।
अमेरिकी विदेश नीतिको सहायता शाखा यूएसएडले विश्वमा लगभग एक सय २० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरूलाई आर्थिक सहयोग गर्दछ । मस्कको व्यापक व्यापारिक चासो रहेको चीनलगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि संघर्षमा यसलाई संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्वपूर्ण स्रोतका रूपमा हेरिन्छ । मस्कले यूएसएडलाई ‘अमेरिकालाई घृणा गर्ने चरम–वामपन्थी माक्र्सवादीहरूको सर्पको गुँड’ भनेका छन् र यसलाई बन्द गर्ने प्रतिज्ञा गरेका छन् । रासस/एएफपी