काठमाडौं । नेपालको चेन हस्पिटालिटी सिद्धार्थ हस्पिटालिटी २७औँ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरु भएको कम्पनीको यात्रा यति बेला मुलुकभर फैलिएको छ । साथै, यसको सेवा विदेशमा समेत विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको जनाइएको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले मुलुकको पर्यटन प्रवद्र्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनाका साथ सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ मा काम गरिरहेको बताए । उनले सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको जानकारी दिए । हाल नेपालका विभिन्न स्थानका साथै भारतमा समेत होटल सञ्चालनको तयारी गरिरहेको उनले जानकारी दिए । ‘सिद्धार्थ हस्पिटालिटीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्दैछ । त्यति मात्रै होइन, धनगढीमा पाँचतारे होटलको योजना अगाडि बढाएको छ’, उनले भने ।
यस्तै, सिद्धार्थले बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालन गरेको छ, यसमा वाटर पार्क र यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदैछ । हाल रेस्टुरेन्टको काम पूरा भई सञ्चालनमा आइसकेको छ भने आगामी असारसम्ममा बाँकी काम पूरा हुने जनाइएको छ । कम्पनीले धनगढीमै पनि सिद्धार्थ कटेज निर्माण गरिरहेको छ । पाहुनाहरूलाई शान्त वातावरण खुला बगैँचा, आधुनिक सुविधासहित रेस्टुरेन्ट र वाटर पार्क साथै उत्कृष्ट सभाहल समेत निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । साथै, कम्पनीले पर्यटकीय गन्तव्य इलाममा पनि कम्पनीको लग्जरी रिसोर्ट निर्माणको योजना बनाएको छ । रिसोर्टमा चियाबगानको दृश्य हेर्न पाइने भिल्ला, अग्र्यानिक फार्म–टु–टेबल भोजन, वेलनेस कार्यक्रमहरू र सांस्कृतिक अनुभवहरू समावेश हुनेछन् ।
हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न आउटलेटमा दुई हजार पाँच सयभन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । आतिथ्यको क्षेत्रमा सबैभन्दा बढी रोजगारी दिने समूहमध्ये सिद्धार्थ हस्पिटालिटी पनि एक हो । कम्पनीले हाल पाँचतारे होटलस्तरमा सिद्धार्थ भिलासा, चारतारेस्तरमा सिद्धार्थ वैभव, तीनतारेस्तरमा सिद्धार्थ बाटिका ब्रान्डमा होटल सञ्चालनमा छन् । त्यसबाहेक सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेका साथै पछिल्लो समय कम्पनीअन्तर्गत एस होटल सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म सेवा प्रवाह गरिरहेको कम्पनीले आफ्नै होटल सञ्चालनका साथै अन्य होटल व्यवस्थापन गरिरहेको छ ।
सिद्धार्थ हस्पिटालिटीले २७औँ वार्षिकोत्सवका अवसरमा समुदायको संलग्नतामा विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । सिद्धार्थले लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरु गरेको छ । साथै, सिद्धार्थले सुर्खेतको होटलबाट कर्णालीमा उत्पादन हुने अग्र्यानिक खाद्यान्न पनि प्रवद्र्धनमा जोड दिँदै आएको छ ।
सिद्धार्थ हस्पिटालिटी विभिन्न सम्मान समेत प्राप्त गरेको छ । गत वर्ष मात्रै पृथ्वी राजमार्गको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट उत्कृष्ट रिभर साइड रिसोर्टको अवार्डबाट सम्मानित भएको थियो । साथै, बौद्धस्थित सिद्धार्थ बुटिक होटलले उत्कृष्ट बुटिक होटलका रूपमा साटा अवार्ड प्राप्त गरेको थियो । सुर्खेतस्थित सिद्धार्थ रिसोर्टले कर्णाली प्रदेश सरकारबाट उत्कृष्ट एचआर प्राक्टिस (मानव संशाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो । त्यस्तै, विभिन्न आउलेटहरू उत्कृष्ट सेवा र आतिथ्यताका लागि ट्राभलर च्वाइस अवार्डबाट समेत सम्मानित भएका थिए ।