जनकपुर।एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ। परीक्षणका लागि बिहीबार जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयानले राजविराजका लागि उडान भरेको हो।
भारतीय पर्यटकको हिमाल तथा कोसी नदी क्षेत्रको दृश्यावलोकनप्रति बढ्दै गएको रुचिलाई दृष्टिगत गरी मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अल्ट्रालाइट वायुयान सञ्चालन गराउन नागरिक उड्ड्यन प्राधिकरणलाई आग्रह गरेका थिए।
प्राधिकरणका सहनिर्देशक देवचन्द्रलाल कर्णले एभियाक्लबको अल्ट्रालाइट वायुयानले सगरमाथाको चुचुरो देखिने गरी जनकपुरबाट राजविराजका लागि उडान भरेको जानकारी दिएका छन्।सो उडान सफल र व्यावसायिक रूपमा नाफामूलक रहेमा भविष्यमा राजविराज विमानस्थललाई केन्द्र बनाई सगरमाथा दर्शनका लागि परिचालन गरिने उल्लेख गरेको छ।
हेलिकोप्टरबाट सगरमाथाको दृश्यावलोकन महँगो भएको र जहाजबाट दृश्यावलोकनको पूर्ण आनन्द प्राप्त गर्न नसकिने हुँदा तुलनात्मक रूपमा अल्ट्रालाइट वायुयान पर्यटकका लागि सस्तो र आकर्षक हुने कर्णले विश्वास व्यक्त गरे। एक यात्रु लिएर उड्ने अल्ट्रालाइट वायुयानबाट सगरमाथा दर्शन गर्न प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ।