काठमाडौं । काठमाडौं उपत्यकामा तीन आर्थिक वर्ष २०७९-०८० देखि आर्थिक वर्ष २०८१-०८२ को माघ तेस्रो सातासम्म सबैभन्दा धेरै बैंकिङ कसुरसँग सम्बन्धित अपराधका घटना भएको देखिएको छ ।
काठमाठौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७९-०८० मा बैंकिङ कसुरसम्बन्धी आठ हजार दुई सय ५१, आर्थिक वर्ष ०८०-०८१ मा सात हजार छ सय २१ र चालू आर्थिक वर्ष २०८१-०८२ को माघ तेस्रो सातासम्म चार हजार दुई सय ५० वटा बैंकिङ कसुरका अपराध प्रहरीमा दर्ता भएका छन् ।
काठमाडौं संघीय राजधानी भएको कारण बढ्दो जनसंख्याले गर्दा बैंकिङ कसुरको साथै अन्य अपराध बढ्दै गएको छ । अपराध अनुसार प्रहरीसँग जनशक्ति अभाव तथा सीमित स्रोत र साधनको कारण अपराध नियन्त्रण गर्न चुनौतीहरू बढ्दै गएको छ ।
बैंकिङ कसुरको अपराध बढेको कारण त्यसको अनुसन्धान गर्न फाइल, कागजात र पेनलगायतका स्टेसनरी सामान खरिद गर्नका लागि नै प्रहरीलाई पैसाको अभाव हुनेगरेको छ । ‘बैंकिङ कसुरको अपराधको अनुसन्धानको लागि तीन वर्षमा एउटा कोठाभरको स्टेसनरी सामान खरिद गर्नुपरेको छ’, पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले भने, ‘बैंकिङ कसुरको अपराधमा प्रहरीले अनुसन्धान मात्र नभई स्वास्थ्य परीक्षण पनि गर्नुपरेको छ । त्यसको लागि बजेट जुटाउनै समस्या छ ।’
तीन आर्थिक वर्षमध्ये आव २०७९/०८० मा सामाजिक अपराधका तीन हजार चार सय ४४, आव ०८१/०८२ मा तीन हजार पाँच सय १० र चालू आवको माघ तेस्रो सातासम्म एक हजार चार सय ३१ वटा सामाजिक अपराधका घटना भएका छन् । त्यस्तै, संगठित अपराधको घटनाले पनि क्रमशः बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरीका अनुसार संगठित अपराधका घटना सबैभन्दा बढी अर्थात् १७ सय ९६ वटा अघिल्लो आव २०८०/०८१ मा घटना भएको छ भने चालू आवको माघ तेस्रो सातासम्म नौ सय ९५ र आव २०७९/०८० मा १२ सय २१ वटा सामाजिक अपराधका घटना भएको छ ।
अपराधका घटनामा दैनिक वृद्धि भए पनि प्रहरी जनशक्ति उपत्यकामा कम भएको कारण समयमै अनुसन्धान सक्न समस्या हुनेगरेको छ । प्रहरीका अनुसार उपत्यकाको ३० लाख २५ हजार तीन सय ८६ जनसंख्याको लागि १० हजार छ सय नौ जना मात्र प्रहरी जनशक्ति छ । उक्त प्रहरी संख्याले के देखाएको छ भने एक जना प्रहरीले दुई सय ८५ जना नागरिकको सुरक्षा प्रदान गर्नुपर्छ ।
अपराध नियन्त्रणका लागि प्रहरीले काठमाडौं उपत्यकामा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको प्रोफाइललाई पुनरावलोकन गर्ने कार्य प्रहरीले जानकारी राखेको छ । त्यस्तौ, विचौलियाहरूलाई कानुनी दायरमा ल्याउने कार्ययोजना तयार गर्ने कार्य प्रहरीले गरिरहेको छ भने विचौलियाहरूलार्य कानुनी दायरमा ल्याउन कार्ययोजना तयार गर्ने काम भइरहेको छ । त्यस्तै अनलाइन ठगी तथा साइबार अपराधबाट जोगिन जनचेतनामूलक कार्यक्रम सञ्चालनका साथै प्रभावकारी अनुसन्धानमा जोड दिइएको छ ।