काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण बनाइदिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा उनले निजी क्षेत्र लगानीको इन्जिन भएको उल्लेख गर्दै सरकारले लगानीको वातावरण बनाइदिनुपर्ने बताए ।
मुलुकमा आर्थिक गतिविधि अगाडि बढाउन सरकारले दोस्रो आर्थिक सुधारको काम सुरु गर्नुपर्ने उनको भनाइ थियो । डा महतले आर्थिक मन्दीलाई समाप्त गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको उल्लेख गरे । ‘आर्थिक विकासलाई द्रूत गतिमा अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको हो । दुई महिनाभित्रै समस्या टुंगो लगाउने विषयको बाध्यतालाई मध्यनजर गर्दै अध्यादेश आएको हुनुपर्दछ’, उनले भने, ‘काहीँकतै ‘कन्टेन्ट’मा समस्या छ भने सदनमा छलफल र बहस गरौँ तर अध्यादेश ल्याएकै कारणले यसको बिरोध गर्नुपर्छ, विधेयक फेल गराउनुपर्छ भन्ने मान्यता उपयुक्त होइन ।’
यस्तै, उनले मुलुकको आर्थिक विकासलाई तीव्रता दिन विद्यमान ऐन कानुनलाई समयसापेक्ष बनाई एकरूपता दिएर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘लगानीका लागि विश्वव्यापी प्रतिष्पर्धा छ । कानुनलाई समयसापेक्ष नबनाए लगानी भित्रिन समस्या हुन्छ । लगानीप्रतिको कानुनलाई नसच्याउने हो भने स्वदेशी लगानी नहुने र विदेशी लगानी पनि नभित्रिने खतरा रहेकाले लगानीसम्बन्धी विधेयक चाँडै संसद्बाट पारित हुन्छ ।’ उनले विधेयक पारित गरेपछि सहजरूपमा आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने बताए ।
सहकारी प्रकणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेतर्फ संकेत गर्दै उनले अदालतको विषयलाई सरकारसँग जोडेर अनावश्यकरूपमा राजनीतिकरण गर्नु नहुने समेत बताए । सहकारी प्रकरण अहिले अदालतको विषय भएकाले अदालतको निर्णयलाई सबैले स्वीकार्नुपर्ने उनको भनाइ थियो । उनले पीडितले न्याय पाउने विषयलाई सरकारले तदरुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।