काठमाडौं । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मका आदेश कार्यान्वयन गर्न ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूले माग गरेका छन् । ब्रिटिस गोर्खा भूपू सैनिकहरूले बिहीबार सरकारले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगरेको भन्दै कार्यान्वयन गराउन दबाब दिन सडकमा मार्चपास समेत गरेका छन् ।
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)को नेतृत्वमा हजारौँको संख्यामा उत्रेका भूपू सैनिकहरूले काठमाडौंको माइतीघर मण्डलाबाट नयाँबानेश्वर पुगी त्यहाँबाट फर्किएर पुनः मण्डलामा आई कोणसभा गरेका थिए । सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराज्यबीच भएको त्रिपक्षीय सम्झौताअन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसो लामो समयदेखि संघर्षको मैदानमा छ । यस भर्तिविरुद्धमा खोलिएका संगठनहरू अहिले गुमनाम अवस्थामा पुगेका छन्, भने पद्म सुन्दर लिम्बु नेतृत्वको बिगेसोको आन्दोलन उत्कर्षमा पुगेको छ । उसले कूटनीतक, राजनीति पहल हुँदै, सडकदेखि सर्वोच्च अदालतसम्म गएर ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ ।
बिगेसोले अदालतमा लडेको कानुनी लडाइँले ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले २४ माघ २०७९ सालमा फैसला मात्रै गरेन उसले नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश नै जारी गरिसकेको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई गत साउन ८ गते र पुस २० गते दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बिगेसोको गुनासो छ ।
सरकारलाई कार्यान्वयनको लागि दबाबस्वरूप निरन्तर संघर्ष गर्दै आइरहेको बेला पछिल्लो समय सरकारले बिगेसोसँग वार्ता पनि गर्न थालेको उनीहरू बताउँछन् । सरकारले बार्ता गरे पनि कर्मकाण्ड चलाएको भन्दै आन्दोलन चर्काउँदै लगेका छन् ।