काठमाडौं । विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले खासगरी महिला र त्यसमा पनि कम उमेरका किशोरीहरूको पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपको अभियान सुरु गरेको छ । क्यान्सर आफैँमा एउटा दुसाध्य रोग मानिन्छ । महिलाहरूमा त पाठेघरको मुखको क्यान्सर भयावह नै बन्दै गएको स्थिति छ । यसले कुनै वर्गविशेष मान्दैन । केही पहिले एकजना प्रसिद्ध अभिनेत्रीमा पनि यस्तो क्यान्सर देखियो । महँगो उपचारपछि उनले त्यसलाई जितिन् तर त्यो कति दर्दनाक हुन्छ भन्ने आफूले गरेको अनुभव सबै महिलामा पुर्याउन उनले चेतना अभियान नै थालिन् । झण्डै दशकदेखि उनको अभियान जारी नै छ । त्यसै पनि क्यान्सरको उपचार लामो समय र खर्चिलो पनि हुन्छ, जो सामान्य परिवारले यसलाई हतपति धान्न पनि सक्दैनन् । प्रसिद्ध अभिनेत्री आफैँ उपचारका लागि सक्षम हुन् । त्यसपछि उनले यस्तो क्यान्सरविरुद्ध जसरी अभियान चलाइन् यसले पनि एउटा सन्देश दिन्छ । चेतना फैलाउनु आफ्नो ठाउँमा छ । तर त्यसको सही र बेलैमा उपचार गरेर छुटकारा पाउन यसले मद्दत गर्ला । तर परीक्षणको दायरासम्म आइनपुग्नेहरूको संख्या धेरै ठूलो हुन सक्छ । त्यसलाई मध्यनजर गरेर सरकारले कम्तीमा कलिला उमेरका किशोरीहरूमा यसको जोखिम कम गराउन जुन कदम चालेको छ यसलाई सकारात्मक अभियान भन्नुपर्छ ।
एउटा अध्ययनअनुसार १० देखि १४ वर्षका १७ लाख बालिकालाई विद्यालयमै पुगेर यस्तो खोप लगाइँदैछ । सरकारले यस्तो खोप लिएर विद्यालय तथा स्थानीयस्तरमै पुग्ने जुन जमर्को गरेकोछ यसले क्यान्सरविरुद्धको चेतना जगाउन समेत मद्दत गर्ने हुन्छ । यो चरणमा १६ लाख ८८ हजार छ सय ८८ बालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप पाउनेछ । बताइएअनुसार २२ माघदेखि ६ फागुनसम्म यो अभियान चल्ने छ । यसबाट देशव्यापीरूपमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने किशोरी छात्राहरू लाभान्वित हुने बताइको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्याक्सिन र खोपका लागि निःशुल्क व्यवस्था गरेको हो । मूल्यका हिसाबले पनि ७० करोड पाँच लाख परेको बताइएको छ । विवरणमा आएअनुसार हाल यो खोप विश्वका एक सय ४४ मुलुकमा नियमित प्रयोग भइरहेको छ, विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त यो खोप सन् २००६ देखि प्रयोगमा ल्याइएको थियो । भविष्यमा नेपालमा पनि पाठेघरको मुखको क्यान्सर हुनेको संख्या बढ्ने देखिन्छ । त्यसैले त्यसको रोकथामका लागि अहिले एउटा उमेर तह तोकेर हो । खोप जुन उमेर समूहका लागि बनेको हो, सोही उमेर समूहलाई दिँदा प्रभावकारी हुन्छ, यो उमेर समूह भनेको शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्था हो ।
अरू उमेर समूहका लागि पनि खोप तयार भएका हुनुपर्छ । त्यसो हो भने सरकारले तिनको पनि व्यवस्था गर्न आवश्यक देखिन्छ । निःशुल्क गर्न नसके आम महिलाले धान्न सक्ने गरी बेचबिखन नै गरेर भए पनि खोप लगाउन प्रोत्साहित गर्ने दायित्व राज्यको हुन आउँछ । सहजरूपले उपचार पाउन नसक्ने दुर्गम क्षेत्रका महिला यस्तो क्यान्सरको बढी शिकार हुने गरेको अध्ययनले देखाइरहेका छन् । विज्ञहरूका अनुसार विश्वमा महिलालाई सबैभन्दा धेरै स्तन क्यान्सर हुन्छ, तर मृत्युदर भने पाठेघरको मुखको क्यान्सरको धेरै रहेको छ । त्यसो हो भने आफ्ना नागरिकको जीवन खोपमार्फत किन जोगाउन प्रयत्न नगर्ने भन्ने प्रश्न उठ्छ नै । खोजीलागेमा यसका दाताहरू पनि पाउन सकिने हुन्छ । जसरी अहिले ७० करोडको लागतमा राज्यको १० करोड मात्र लगानी भएको छ । यस्तैयस्तै अभ्यास गरियो भने जनताबीच राज्यको उपस्थिति देखिनेछ । यसतर्फ ध्यान जाओस् ।