काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा ४६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४६ दशमलव तीन प्रतिशतले बढेको हो ।
दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ७९ करोड ८१ लाख छ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन समीक्षा अवधिको तुलनामा आठ दशमलव ५४ प्रतिशत बढी हो । यस्तै, गत वर्ष कम्पनीको विद्युत् बिक्रीको आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानीअन्तर्गत आठ करोड छ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै, कम्पनीको व्याज खर्च १३ करोड ५९ लाखबाट घटेर १२ करोड ४० लाख कायम भएको छ । विद्युत् बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र व्याज खर्च पनि घटेकोलगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख पुगेको हो । कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुन बाँकी छ । यस अवधिमा कम्पनीको रिटेन अर्निङ एक अर्ब २४ करोड रहेको छ । सो अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति सेयर आम्दानी १९ दशमलव ६७ रुपैयाँ पुगेको छ । वार्षिकीकरण गरिएकोप्रति सेयर आम्दानी भने ३९ दशमलव ३४ रुपैयाँ हुन आउँछ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा रहेको छ । माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।