महोत्तरी । महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।
जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जङ्गली हात्तीले उपद्रो मच्चाएका छन् । तीन वटाको समूहमा बस्ती पस्ने हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउँछन् । यसपालि पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ । गत बिहीबार राति मात्र हात्तीले गौशाला–८ ढल्केबरमा पाँच/सातवटा गोठघर भत्काइदिएको छ । गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला–८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बाली उखेल्ने, माड्ने गरेर क्षति पुर्याएको छ । जङ्गली हात्तीको समूह बिहानपख बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन् ।
अधिकांश मध्यरातपछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर जाने गरेको गौशाला–८ ढल्केबरकै मीन रहपाल बताउँछन् । गत आइतबार यता मात्रै हात्तीको समूहले आफ्नो वडाका विभिन्न बस्तीमा गरी १० बिघा बढीको बालीनाली सखाप पारेको गौशाला–८ का वडाअध्यक्ष भोजबहादुर दर्लामीले बताए । जङ्गली हात्तीले वर्षेनिजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आए पनि यसको समाधान भने हुन सकेको छैन । हात्तीले गत वर्ष हिउँदमा बर्दिबास–३ पाटुमा दुई वटा घर नै लडाएर बिचल्ली बनाएको थियो । त्यसअघि हात्तीले बर्दिबास–३ कै पर्साहीधाप र रजबासका सात घर भत्काएको पीडितले अझै बिर्सेका छैनन् ।