काठमाडौं । भृकुटीमण्डपमा जारी बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँ–नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ ।
क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनीस्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्रान्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । क्यान इन्फोटेक २०२५ को ब्रान्डिङ कक्षमा कम्पनीहरूलाई ब्रान्डको प्रवर्द्धन गर्न ‘बीटुबी जोन’ समेत बनाइएको छ । यसमार्फत कम्पनीहरूले आफ्ना डिलर तथा क्लाइन्टसँग प्रत्यक्ष अन्तक्र्रिया गरिरहेका छन् ।
शीर्ष प्रायोजक एचएमसी हिक्मेसीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ । यसअन्तर्गत वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ । त्यस्तै, सहशीर्ष प्रायोजक मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्रान्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्रान्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ । त्यस्तै, गोल्ड स्पोन्सर गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालिले चार्ज सकिँदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो स्कुटरमा विशेष स्किम राखेको छ । यसअन्तर्गत ग्राहकले काठमाडौं सहरभित्र एक हजार किलोमिटर निःशुल्क यात्रा गर्न सक्नेछन् भने निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर दिइएको छ ।
क्यान इन्फोटेकको इन्टरनेट पार्टनर वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई बोट एयरड्रप्स एक सय ८१ प्रो र बोट स्टोन तीन सय ५२ मार्बल सिरिजमा ५० प्रतिशत छुट प्रदान गरेको छ । त्यस्तै, राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि बाइक र क्याब दुवैमा ६० प्रतिशत छुट प्रदान गरेको छ । एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्पलगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ । यी उत्पादनमा क्यान इन्फोटेक अवधिभर कम्पनीले अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ ।
त्यस्तै, विभिन्न कम्पनीले विश्वविख्यात नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेका छन् । क्यान इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै क्यान इन्फोटेक अवधिभर ३० प्रतिशतसम्म छुट घोषणा गरेका छन् । प्रदर्शनीमा चर्चित ब्रान्डहरूका एआईमा आधारित डिभाइसमा युवा अवलोकनकर्ताको विशेष चासो देखिएको छ । कम्पनीहरूले यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन् ।
क्यान इन्फोटेकका अवलोकनकर्ताका लागि आईटी तालिम प्रदायकहरूले हरेक आईटी कोर्समा छुट अफर ल्याएका छन् । साथै, अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका छन् । यसैबीच शुक्रबारदेखि रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान)ले रोबोटिक्स कम्पिटिसन सुरु गरेको छ । त्यस्तै, क्यान इन्फोटेकमा नेपालमै निर्मित मुनाल स्याटलाइटमा अवलोकनकर्ताको चासो देखिएको छ । साथै, ‘नेपाल स्याट’को प्रोटोटाइप समेत प्रदर्शन गरिएको छ । विभिन्न आईटी तथा इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार पारेका एआई, रोबोटिक्स तथा नवीनतम प्रोजेक्टले प्रविधि जिज्ञासुलाई तानेको देखिन्छ ।
त्यस्तै, हाइफ्युचरले आफ्ना उत्पादनमा लक्की ड्र कम्पिटिसन आयोजना गरी अवलोकनकर्तालाई लोभ्याएको छ । स्मार्टवाच, इयरबड्सलगायतका लागि नेपाली ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले स्पिन एन्ड विन कन्टेस्टमार्फत उपहार योजना सञ्चालन गरिरहेको छ । त्यस्तै, ¥यापुले तीन हजार मूल्य पर्ने एलिस्टा इयरबड्स मात्र १५ सय रुपैयाँमै उपलब्ध गराएको छ ।
क्यान इन्फोटेकमा ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीमा पनि प्रयोगकर्ताको आकर्षण देखिएको छ । यस प्लेटफर्मबाट केही मिनेटभित्रै नेपालका हरेक घरले आफ्नो घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् । त्यस्तै, एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारले यसपालिको क्यान इन्फोटेकको रौनकता थपेका छन् । साथै, क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्सलगायतका प्रोजेक्ट राखिएका छन् ।
अर्कोतर्फ कम्प्युटर र एक्सेसरिजलगायतका ब्रान्डले अवलोकनकर्ता आकर्षित गर्न सोहीअनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत केही कम्पनीहरूले क्यान इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसीलगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएका छन् । त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले तयार पारेको सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ । आईटी तथा इन्जिनियरिङ विद्यार्थीका लागि लक्षित गरी यस स्मार्ट बसमा एआई कोडिङ क्याम्प समेत सञ्चालन गरिएको छ ।
क्यान इन्फोटेकमा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव चन्द्र विलास भुर्तेलले बताए । विभिन्न कलेजबाट उल्लेख्य संख्या आएका विद्यार्थीले क्यान इन्फोटेकको माहोल थप बढाएको छ भने कलाकारदेखि नीति निर्माता तथा जनप्रतिनिधिहरू समेत मेलामा सहभागी छन् । कुल एक सय ५५ वटा स्टलसहित बिहीबारदेखि सञ्चालन भइरहेको क्यान इन्फोटेक २०२५ सोमबारसम्म चल्ने छ ।