काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोसिप र जर्नी अफ इम्प्याक्ट्स’ कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौं कोहर्टका सहभागीको स्वागत गरिएको बैंकले जनाएको छ ।
बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चलन गर्दै आएको हो । कार्यक्रममा फेलोसिप कार्यक्रमका सहभागीहरूले नवीन उद्यममार्फत प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे चर्चा गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन प्रा डा महानन्द चालिसेले नबिल एसएसई कार्यक्रम सामाजमा परिवर्तन ल्याउन महत्वपूर्ण पहल भएको चर्चा गर्दै यसलाई थप विकास र विस्तार गर्न सकिने धारणा व्यक्त गरे । उनले नबिल एसएसईजस्ता कार्यक्रमले नवउद्यमीलाई व्यावसायिक विकासका लागि मार्गदर्शन गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि त्रिविका उपकुलपति प्रा डा केशरजंग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रवर्द्धनका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गरे । ‘यो कार्यक्रमले युवाहरूमा जागिर खाने होइन जागिर दिने मानसिकतामा परिवर्तन ल्याउनेछ,’ उनले भने ।
नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशीलताको महत्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले विभिन्न कठिनाइका बाबजुद पनि नेपाली युवालाई रोजगारदाताका रूपमा अघि बढ्न प्रेरित गरिरहेको उल्लेख गरे । उनले कार्यक्रममा सहभागीका उत्पादनहरू क्रमशः परिष्कृत हुँदै गएकामा खुसी व्यक्त गर्दै नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे चर्चा गरे ।
त्रिविका रेक्टर प्रा डा खड्ग केसीले नबिल बैंकले उद्यमशीलता प्रवद्र्धनका लागि त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यको प्रशंसा गर्दै नबिल एसएसईले रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले फेलोसिप कार्यक्रमअन्तर्गतको चौथो समूहलाई स्वागत गर्दै यसअघिका तीन समूहका सहभागीले ४५ वटा उद्यम स्थापना गरी हालसम्म एक हजार दुई सयलाई रोजगारी उपलब्ध गराइरहेको जानकारी दिए । उनले प्रवासी नेपाली कामदारहरूले आर्जन गरेको सीप सदुपयोग गरी स्वदेशमै उद्यमशीलताको विकास गर्न सकिने धारणा राखे ।
नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यक्रमलाई सफल बनाउन त्रिभुवन विश्वविद्यालयको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरे ।
फेलोसिप कार्यक्रमका सहभागीहरूले नबिल बैंकले उद्यमी बन्न आवश्यक ज्ञान, सिप तथा मार्गदर्शन प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे । कार्यक्रममा भाग लिएसँगै व्यवसाय विस्तारमा सहयोग भएको उनीहरूले बताए ।
नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । नबिल एसएसईअन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा रोजगारी सिर्जना भइसकेको बैंकले जनाएको छ ।
फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।