काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको राजनीतिक हस्तक्षेपका बाबजुद उनको चाहनाका उपकुलपतिका उम्मेदवार प्रारम्भिक मार्किङमा कमजोर देखिएका छन् र सर्ट लिस्टमा पर्ने सम्भावना कम रहेको छ ।
सामान्यतया प्रारम्भिक मार्किङमा बढी नम्बर प्राप्त गरेका मध्येबाट छ जनाको नाम सिफारिस गर्ने गरिन्छ र फेरि पनि कुलपति ओलीबाट हस्तक्षेप भयो भने त्यसमा तलमाथि पनि हुन सक्दछ । तर, यथास्थितिमा कुलपति ओलीले चाहेका नाम उपकुलपतिको लागि सिफारिस हुने सम्भावना कमै रहेछ । सात दिनको म्याद थपेपछि उपकुलपतिका लागि दरखास्त हाल्ने चार जनासहित अहिले २० जनाको प्रारम्भिक मार्किङ सकिएको छ । त्यसमा सबैभन्दा बढी अङ्क निवर्तमान उपकुलपति प्राडा भोला थापाले प्राप्त गरेका छन् । उनले पूर्णाङ्क ३० मा ३० अङ्क नै प्राप्त गरेर अरु सबै उम्मेदवारलाई पछि पारेका छन् । दोस्रो नम्बरमा रहेका प्राडा सुवोध शर्माले २९ नम्बर प्राप्त गरेका छन् । त्यसैगरी तेस्रो नम्बरमा रहेका प्राडा बालचन्द्र लुईटेलले २८ नम्बर प्राप्त गरेका छन् भने चौथोमा रहेका प्राडा राजेन्द्र कोजुले २६ नम्बर प्राप्त गरेका छन् ।
पाँचौँ नम्बरमा रहेका प्राडा हरिप्रसाद न्यौपानेले २५ नम्बर प्राप्त गरेका छन् भने छैटौँ र सातौँ नम्बरमा रहेका प्राडा मनिष पोख्रेल र प्राडा जनार्दन लामिछानेले समान २४ नम्बर प्राप्त गरेका छन् । त्यसैगरी आठौँ र नवौँ नम्बरमा रहेका प्राडा गेहनाथ बराल र प्राडा श्याम नारायण लाभले समान २३ अङ्क प्राप्त गरेका छन् भने दशौँ, एघारौँ र बाह्रौँ नम्बरमा रहेका प्राडा कन्हैया झा, प्राडा भीमप्रसाद श्रेष्ठ र प्राडा दीपक श्रेष्ठले समान २१ नम्बर प्राप्त गरेर प्राडा विभुति रञ्जना झा, प्राडा वेदमणि दाहाल र प्राडा नवीन पाख्रेल १३औँ, १४औँ र १५औँ वरीयता प्राप्त गरेका छन् भने प्राडा अच्यूत प्रसाद वाग्ले १६औँ र प्राडा राजेश नेपाल १७औँ नम्बरमा रहेका छन् । उनीहरू दुवैले समान १९ अङ्क प्राप्त गरेका छन् । अठारौँ नम्बर नै प्राप्त गरेका छन् भने १९ र २० नम्बरमा रहेका प्राडा मेघराज दंगालले क्रमशः १७ र १३ नम्बर प्राप्त गरेका छन् ।