काठमाडौं । उच्च अदालत पाटनले कम्पनी रजिस्ट्रारको कार्यालयलाई अध्यादेश कार्यान्वयन नहुनुको कारण सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले जारी गरेको अध्यादेश राजपत्रमा प्रकाशित भएको एक महिना पुग्न लाग्दा पनि जरिबाना छुट नपाएपछि सेवाग्राहीको तर्फबाट भुमिराज शर्माले उच्च अदालत पाटनमा छुट पाउन निवेदन दर्ता गराएका थिए । सोही निवेदनमा माग भएअनुसारको आदेश दिन नपर्नुको कारण र प्रमाण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।
सरकारले अध्यादेशमार्फत कुनै पनि कम्पनीको विवरण नबुझाएको अवस्था भएमा २०८२ असार मसान्न्तभित्र बुझाएमा जरिबानामा ९० प्रतिशत छुट हुने व्यवस्था गरी अध्यादेश जारी गरेको छ । यस्तै कम्पनी खारेजीमा गएमा पनि छुट दिने व्यवस्था गरेको छ । राजपत्रमा प्रकाशित भइसकेको सो अध्यादेश कम्पनी राजिष्ट्रारको कार्यालयले अहिलेसम्म पनि कार्यान्वयन गरेको छैन । जसले गर्दा सेवाग्राही मर्कामा परेका छन् । जरिबाना छुट पाउने आशामा विवरण बुझाए पनि कम्पनी छुट नपाउँदा आफूहरुले अनाहकमा जरिबाना तिर्नुपरेको गुनासो सेवाग्राहीको छ ।