काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर बर्न अस्पतालका अधिकारीहरूसँग निःशुल्क जलन उपचार सेवाको दुरुपयोग हुन नदिन आग्रह गरेका छन् । आइतबार अस्पताल पुगेका मन्त्री पौडलले आवश्यक पर्नेलाई मात्र निःशुल्क सेवा दिने निश्चित गर्न आग्रह गरेका हुन् ।
सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न उपचार गर्न नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेको उनले बताए । मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरूको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ । काठमाडौं २८ कमलपोखरीस्थित एक मम आउटलेट आगलागीका क्रममा जलेर घाइते बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिन मन्त्री पौडेल आइतबार अस्पताल पुगेका थिए । सो क्रममा उनले जलन प्रभावितहरूको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याहरू तथा बिरामीका गुनासा दुवै सुनेका थिए ।
जलनको समस्या बढिरहेको भन्दै उनले उपचार प्रभावकारी र सबैको पहुँचमा पु¥याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए । मन्त्री पौडेलले भने, ‘जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौँ ।’ आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि अस्पतालमा कीर्तिपुर नगरपालिकामार्फत दुई करोड रुपैयाँ निकासा गरेको उनले जानकारी दिए । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समसया भोगेका बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ । कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको मन्त्री पौडेलले जानकारी दिए ।