काठमाडौं । दोलखाको धार्मिक तथा पर्यकीय स्थलमा शैलुङमा भीमसेन तरबारको शिलामा पूजाआजा गरिएको छ । जिल्लाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ मा रहेको शैलुुङ डाँडामा शनिबार गुरुबा, आचाजुलगायतबाट शैलुङ डाँडामा रहेको भीमसेन तरवार शिलाको पूजाआजा गरिएको हो ।
काठमाडौँबाट गएका गुुरुबा बाबुरत्न बज्राचार्य, तलेजुु माताका पुुजारी आचाजु उद्धव बज्राचार्य, भैरवसँग सम्बन्धित अरुण शाक्य, इन्द्रजात्रा व्यवस्थापन समिति अध्यक्ष गौतम शाक्य, गुरुआमा दिलकेश शाक्य, स्वेतभैरव पुुजारी प्रकाश ताम्राकारलगायतको सहभागितामा पूजाआजा गरिएको हो । किंवदन्तीअनुसार पाँच पाण्डवमध्येको भीमसेन दोलखाबाट शैलुङको बाटो हुँदै नेपालमण्डल जाने क्रममा शैलुङ डाँडामा तरबार (खड्ग) बिसाएर विश्राम गरेका थिए । उनी हिँड्ने बेला तरबार त्यहीँ छोडिएको धार्मिक विश्वास छ ।
धार्मिक एवम् सांस्कृतिक महत्वको ऐतिहासिक भीमसेन तरवार शिलालाई भीमा एकादशी पर्वको अवसरमा गुुरुबा, आचार्यहरूबाट भव्य पूजासहित व्यवस्थित गरिएको स्थानीय शोभित उप्रेतीले जानकारी दिए । शैलुुङ गाँउपालिका वडा नम्बर– ८ को आयोजनामा भएको भीमसेन तरवार शिला पूजाको लागि विभिन्न संघसंस्थाले सहयोग गरेको वडा अध्यक्ष धनबहादुुर तामाङले बताए । तीन हजार एक सय ४८ मिटरको उचाइमा रहेको शैलुङको सय वटा थुम्कामा ऋषीहरूले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तामाङ भाषामा ‘शै’ को अर्थ सय र ‘लुङ’को अर्थ थुम्का हुन्छ । उक्त ठाउँमा सयवटा थुम्का रहेकाले शैलुङ नामाकरण भएको स्थानीय जेष्ठ नागरिकहरू बताउँछन् ।
यस्तै, शैलुङमा हरेक बाह्र वर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ । महादेव (शिवजी) को प्रतिमूर्तिमा शिर निहुराएर मागेको बर खेर नजाने विश्वास रहेको स्थानीय धनबहादुुर मगरले बताए । महादेव मन्दिरसंगै रहेको धर्म ढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कन गरिरहेका हुन्छन् । धर्मात्माहरूले सजिलै धर्मढोका पार गर्न सक्ने तर पापीले त्यो शौभाग्य पाउन नसक्ने यहाँको जनविश्वास समेत रहेको छ ।