काठमाडौ । बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति ४० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति बढेर ४० अर्ब ७५ करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा १७ अर्ब चार करोड ५० लाख रुपैयाँ बढी हो । गत वर्ष पुस मसान्तमा २३ अर्ब ७१ करोड १० लाख रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति थियो ।
वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत पुस मसान्तसम्म कुल ३४ अर्ब ८६ करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन गतवर्ष पुस मसान्तको तुलनामा १४ अर्ब ९८ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष पुसमा १९ अर्ब ८७ करोड ७० लाख रुपैयाँ थियो । विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत पुुससम्म तीन अर्ब ६० करोड २० लाख रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा एक अर्ब आठ करोड ५० लाख रुपैयाँ बढी हो । गत वर्ष पुसमा यस्तो सम्पत्ति दुई अर्ब ५१ करोड ७० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति पनि दुई अर्ब २८ करोड ८० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा ९७ करोड रुपैयाँ बढी हो । गत वर्ष पुसमा एक अर्ब ३१ करोड ८० लाख रुपैयाँ थियो ।