सुर्खेत । कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब रुपैयाँ बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब रुपैयाँ बढीको खाद्यन्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका १० जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजारको खाद्यन्न, फलफूल तथा खसी बोका निकासी भएको थियो । विशेषगरी कर्णालीबाट खाद्यान्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ, भने तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलुलगायतका वस्तु निकासी हुने गरेको छ । यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौं, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । उनका अनुसार कृषि उपज निकासीबाट कर्णालीमा वर्षेनि करिब दुई अर्ब रुपैयाँ रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशले कृषि वस्तु निकासीबाट एक अर्ब ७९ करोड रकम भित्र्याएको थियो । भने गत आर्थिक वर्षमा करिब दुई अर्बको आम्दानी कृषि वस्तुबाट गरिएको उनले बताए ।
यसैगरी, पशुपक्षीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले दुई अर्ब ३० करोड रुपैयाँ रकम वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपक्षीअन्तर्गत खसीबोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपक्षी निर्देशनालयले जनाएको छ । वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसीबोका निकासी हुने गरेको निर्देशनालयको तथ्यांक छ । यस्तै दूध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज निकासी हुने गरेको छ ।
दूधमा अनुदान दिएपछि उत्पादनमा वृिद्ध
कर्णाली प्रदेश सरकारले दूध उत्पादक किसानलाई दूधमा अनुदान दिँदै आएको छ । माथिल्लो कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसानले उत्पादन गर्ने दूधको लागि लिटरमा १० रुपैयाँ र तल्लो कर्णालीका सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान, जाजरकोटका किसानले उत्पादन गर्ने दूधमा लिटरमा पाँच रुपैयाँ अनुदान दिँदै आएको छ । यसले गर्दा किसान पशुपालन व्यवसाय आकर्षित हुन थालेका हुन भने दूधको उत्पादनमा समेत वृद्धि भएको छ ।