काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न पहिल गरिने बताएका छन् । खानेपानी मन्त्रालयले सोमबार आयोजना गरेको ‘समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रममा उनले वास सेवाको सशक्तीकरणका लागि सरकारको राष्ट्रिय प्राथमिकतामा पार्ने उल्लेख गरे । उनले राजनीतिक दल, संघ, प्रदेश र स्थानीय तहका सरकारले एकताबद्ध भएर लिखित प्रतिबद्धता जनाए वास सेवा सुधारमा ठोस उपलब्धि हासिल गर्न सकिने बताए । मन्त्री यादवले यसका लागि तीनै तहका सरकारबीच सहकार्य मजबुत बनाउन नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघलगायतका संस्थाहरूसँग सहकार्य गर्दै नीति तथा रणनीतिहरू परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा प्रदेशका खानेपानीसँग जोडिएका मन्त्री, नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघका प्रतिनिधिसँग छलफल भएको थियो । छलफलका क्रममा सहभागीहरूले सुरक्षित खानेपानी तथा सरसफाइका लक्ष्यहरू हासिल गर्न सबैले एकताबद्ध भएर काम गर्नुपर्ने र वास सेवालाई सुरक्षित, सबल, तथा समावेशी बनाउन निरन्तर प्रतिबद्ध रहनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा कर्णाली प्रदेशकी खानेपानीमन्त्री विजया बुढा, संघीय खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठ, सातवटै प्रदेशका सचिवहरू, उपमहानिर्देशक रामचन्द्र काफ्लेलगायतको उपस्थिति रहेको थियो ।