काठमाडौं । सरकारले थाम्नै नसक्ने गरी वित्तीय अपराध बढिरहेका छन । यही अवस्था कामय रहे अहिले सहकारी ठगीका बारे आमतहमा नै समाधान हुनै नसक्ने गरी जसरी कुराहरू बाहिर आइरहेका छन् । त्यहीरूपमा बैंकिङ कसुरका घटना पनि आउन थाल्नेजस्तो देखिँदैछ । सहकारीमा पछिल्लो समय एउटै गिरोहले दर्जनजति सहकारी ठगी गरेका विषय आइरहेका छन् । दुईपटक गृहमन्त्री भएका व्यक्ति आफैँ आधादर्जनजति सहकारीका ठग रहेछन् भन्ने अनुसन्धानबाट देखिने मात्र होइन अदालतका फैसलाले समेत यो कुरा पुष्टि गर्दैछ । आफूलाई सर्वाधिक चोखो र सुशासनको अभियन्ता भनी चिनाउने व्यक्ति अहिले चारवटा अदालतबाट करिब तीन करोडको धरौटी बुझाएर छुटेका छन् । अझै मुद्दा चल्ने जिल्ला बाँकी नै छन् । यो भनेको सहकारी ठगीको विकरालरूप हो । यही कुरा बैंकिङ कसुरसँग सम्बन्धित अपराधका घटनामा प्रकट हुन थालेका छन् । यो सामान्य अवस्था होइन । राज्य गम्भीर बन्नुपर्छ ।
सार्वजनिक भइरहेका विवरणले देखाएअनुसार काठमाडौं उपत्यकाको एउटा सानो भूगोलमा मात्रै तीन आर्थिक वर्ष २०७९–८० देखि आर्थिक वर्ष २०८१–०८२ को माघ तेस्रो सातासम्म सबैभन्दा धेरै बैंकिङ कसुरसँग सम्बन्धित अपराधका घटना प्रकट भएका छन् । पूरै देशका हिसाबले उपत्यका धेरै ठूलो भूभाग होइन । त्यसमाथि राज्यको सबै केन्द्रीय कार्यालय रहेका ठाउँमा यस्ता अपराधको स्थिति यस्तो छ भने अन्यत्र के होला भन्ने प्रश्न उठ्छ नै । प्रहरी कार्यालयमा रहेको रेकर्डअनुसार आर्थिक वर्ष २०७९/८० मा बैंकिङ कसुरसम्बन्धी आठ हजार दुई सय ५१, आर्थिक वर्ष २०८०/८१ मा सात हजार छ सय २१ र चालू आर्थिक वर्ष २०८१/८२ को माघ तेस्रो सातासम्म चार हजार दुई सय ५० वटा बैंकिङ कसुरका अपराध भएका छन् । पुगनपुग तीन वर्षमा एउटा क्षेत्र बैंकिङमा मात्रै २० हजारको संख्याका अपराध कर्म हुनुभनेको सामान्य कुरा होइन । यसले केन्द्रीय कार्यालय रहेकै क्षेत्रमा बैंकिङ क्षेत्र निरन्तर असुरक्षित रहेको भन्ने देखाउँछ । काठमाडौं उपत्यका संघीय राजधानी भएको र जनसंख्याको चाप पनि त्यति नै बढीरहेका कारण बैंकिङ कसुरका साथै अन्य अपराध पनि बढ्दै गएका हुनुपर्छ । प्रहरीका भनाइअनुसार बैंकिङ कसुरको अपराधको अनुसन्धानको लागि तीन वर्षमा एउटा कोठाभरको स्टेसनरी सामान खरिद गर्नुपरेको छ, बैंकिङ कसुरको अपराधमा प्रहरीले अनुसन्धान मात्र नभई स्वास्थ्य परीक्षण पनि गर्नुपरेको छ । त्यसको लागि बजेट जुटाउनै समस्या छ ।
अपराध क्षेत्रको विश्लेषण गर्ने हो भने बैंकिङ कसुरभन्दा अन्य सामाजिक अपराधका घटना केही कम देखिन्छन् । प्रहरीले जनाएअनुसार तीन आर्थिक वर्षमध्ये आव २०७९/०८० मा तीन हजार चार सय ४४, आव ०८१/०८२ मा तीन हजार पाँच सय १० र चालू आवको माघ तेस्रो सातासम्म एक हजार चार सय ३१ वटा सामाजिक अपराधका घटना भए । विगतभन्दा यो संख्या पनि बढ्दै गएकै स्थिति हो । संगठित अपराधका घटनाले पनि त्यस्तै आकार लिँदैछन् । जस्तो अघिल्लो आव २०८०/८१ मा १७ सय ९६ वटा घटना भए भने चालू आवको माघ तेस्रो सातासम्म नौ सय ९५ र आव २०७९/८० मा १२ सय २१ वटा सामाजिक अपराधका घटना भएका छन् ।
उल्लेखित विवरणले काठमाडौं उपत्यकामा विभिन्न प्रकारका अपराधका घटनाहरू बढ्दैछन् । यसले समाज कतै अपराधतर्फ उन्मुख भएको त होइन भन्ने प्रश्न उठ्न सक्छ । यसमा आधुनिक प्रविधिका पक्षबाट गरिँदै आइएको अपराधको चर्चा छैन । यी दृश्यहरूले मात्रै पनि निकायहरूलाई सतर्क रहन सन्देश दिएको छ ।