सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरू आफूहरूलाई अस्वीकार्य भएकोले बहुमत नपुग्ने हुँदा पास नहुने दाबी गरेका छन् ।
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको कार्यक्रममा सहभागी हुन मङ्गलवार सुर्खेत आएका अध्यक्ष प्रचण्डले संसद छलेर ल्याइएका अध्यादेशहरू पासै नहुने जिकिर गरे । सरकारले बहुमतका आधारमा अध्यादेश ल्याएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई दुई तिहाइको अहंकार नपाल्न सुझाव दिँए । उनले बहुमतको बलमा पेलेर नजान पनि सचेत गराए ।
अहिले आर्थिक सङ्कटमा सरकार फस्दै गएकोले विकास बजेट घटाउन लागेको पाइएको भन्दै प्रचण्डले त्यसो गरिए प्रतिपक्षका हैसियतले पार्टीले सशक्त प्रतिवाद गर्ने बताए । उनले अहिलेको सरकार ढाल्ने, नयाँ सरकार बनाउने वा नयाँ गठबन्धन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने बताए ।