काठमाडौं । नेपाल फेरि पनि धेरै भ्रष्टाचार हुने मुलुकमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसन (टीआई) नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार एक सय ८० देशमध्ये एक सय सातौँ स्थानमा छ ।
नेपालले एक सय अङ्कमा जम्मा ३४ अङ्क प्राप्त गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्मा नेपालले यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी कामकारबाही अगाडि बढाउन आवश्यक देखिएको बताएका छन् ।
दक्षिण एसियाली मुलुकहरूमा भुटानले ७२ अङ्क, भारत र मालदिभ्सले समान ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलंकाले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बंगलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी चीनले ४३ अङ्क प्राप्त गरेको छ ।
विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ । डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा छ । डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा छ ।
साउथ सुडान आठ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ । सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र शून्य अङ्कले अति भ्रष्ट जनाउँछ । सर्वेक्षण गरिएका मुलुकको औसत अङ्क यस वर्ष पनि ४३ कायम छ । कम अङ्क प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरू छन् । विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रियस्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अङ्क प्राप्त गरेका देखिएको छ ।