काठमाडौं । शाब्दिक अर्थमा भन्ने हो भने आफैँले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नभन्दा मर्न सजिलो लागेर मानिसले आत्महत्या गर्छन् । तर कतिपय अवस्थामा मानिसले रिस र आवेगमा आएर पनि आत्महत्या गरेको देखिन्छ । तर आत्महत्याको अन्तर्य यति सतही छैन, निकै गहिरो र गम्भीर छ । पहिला आत्महत्याको विश्वव्यापी तथ्याङ्क हेरौँ– विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार सन् २०२१ मा विश्वका करिब सात लाख २६ हजार मानिसले आत्महत्या गरेका देखिन्छ । अमेरिकाजस्तो विकसित मुलुकमा समेत हरेक ११ मिनेटमा एकजना व्यक्ति आत्महत्या गर्ने गरेको पछिल्लो तथ्याङ्कले देखाउँछ । त्यसो त निम्न र मध्यम आय भएका देशहरूमा आत्महत्याको दर बढी छ । विश्वको ७३ प्रतिशत आत्महत्या गरिब देशहरूमा हुने गर्छ भने आत्महत्या अहिले मृत्युको एक प्रमुख कारण बनेको छ । १५ देखि २९ वर्ष समूहका व्यक्तिहरूको मृत्युको तेस्रो कारण आत्महत्या हो ।
आत्महत्याका विविध कारण हुन सक्छन् । तर आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित हुने अध्ययनले देखाएका छन् । तर सबै मानसिक समस्याले आत्महत्या तथा आत्मक्षति गर्छन् नै भन्ने छैन । १५ देखि २० प्रतिशत डिप्रेसनमा परेका व्यक्तिले आत्महत्याको प्रयास गर्छन् । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदिजस्ता मानसिक समस्याका कारणले पनि मानिसले आत्महत्या गर्छन् । प्रायः उद्विग्न बनाउने मनोसामाजिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्छन् । जस्तो कि गम्भीर तथा पीडादायक शारीरिक रोगहरू (क्यान्सर तथा एड्स आदि), परीक्षामा असफलता, प्रेममा विछोड तथा असफलता, कष्टदायक वैवाहिक जीवन, अनिच्छित गर्भ, व्यापार व्यवसायमा घाटा तथा क्षति, धेरै ऋण, सामाजिक अपमान तथा बहिष्कार, आत्मसम्मानमा ठेस (जस्तै झूटो आरोप, उपेक्षा, लाञ्छना, जागिरबाट बर्खास्तगी, अरूसामु बेइज्जत आदि) । प्रियजन तथा आफन्तको मृत्यु, मानसिक अन्तद्र्वन्द्व, मद्यपान तथा दुर्व्यसन, पारपाचुके तथा आपसी सम्बन्धमा तनाव तथा कटुता, यौन समस्या, दाइजोसम्बन्धी समस्या, घरेलु हिंसा तथा पारिवारिक कलह, बेरोजगारी तथा आर्थिक समस्या, बलात्कारको पीडा, आत्महत्याको पारिवारिक इतिहास आदि पनि कारक बन्छन् ।
बाँच्ने रहर नभई जानीजानी आफ्नो प्राण त्याग्ने कार्यलाई आत्महत्या भनिन्छ । अहिले विश्वभरि नै आत्महत्याको दर बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विश्वमा प्रत्येक तीन सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने, प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने, एक दिनमा तीन हजार जनाले र वर्षभरिमा आठ लाख व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । उक्त अध्ययनका अनसार १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या पाइएको छ । कुल आत्महत्याको ७५ प्रतिशत आत्महत्या न्यून तथा मध्यम आयस्तर भएका देशहरूमा हुने गरेको छ ।
एक वा एकभन्दा बढी कुनै पनि व्यक्तिले अर्काे व्यक्तिलाई आत्महत्या गर्न उक्साउने, परिबन्धनमा पार्ने वा सो कार्य गर्न सघाउ पुर्याउने कार्यलाई आत्महत्या दुरुत्साहन भनिन्छ । अर्थात्, कुनै पनि व्यक्तिले अपराध गर्न उक्साहट गर्ने, पुठ दिने, सु¥याउने, सन्काउने, वचन दिने व्यक्तिलाई अपराध गर्न दुरुत्साहन गर्ने व्यक्तिको रूपमा लिन सकिन्छ भन्ने विद्धानहरूको कथन छ । यस अर्थबाट कोही कसैले उल्लेखित कार्यहरू गरी आत्महत्या गर्नुपर्नेसम्मको परिस्थिति सिर्जना गरी मृतकका सामु मृत्युबाहेक अन्य कुनै विकल्प छैन भन्ने गहन अनुभूति हुने अवस्था सिर्जना गरे गराएमा आत्महत्या दुरुत्साहन गरेको मानिन्छ भन्ने बुझिन्छ । आत्महत्या गर्ने व्यक्तिले आफ्नो सामाजिक इज्जत, प्रतिष्ठा बचाएर बाँच्न नसक्ने अवस्था सिर्जना गरिन्छ भने त्यस्तो कार्य नै आत्महत्याका लागि दुरुत्साहन हो । अर्कोतर्फ ‘हत्या कुनै कार्य वा कार्यको अभावबाट सिर्जना हुने व्यक्तिको मृत्युको कारण हो, उक्त कारण भए उसको मृत्यु हुने थिएन, अर्थात् उसको मृत्युसँग प्रत्यक्ष र निकट सम्बन्ध राख्ने मृत्युको कारण नै हत्या हो’ भनी बताइएको कुरा विद्वानहरूको मत रहेको छ । त्यसर्थ, कुनै कारणबाटै हत्या हुन्छ र आत्महत्या पनि त्यसैको सेरोफेरोमा सम्बन्धित छ । हत्याको कुनै कारण खोजी नगरी केवल मृतकको मृत्यु झुण्डिएर भएको मात्र भनिनुमा न्यायिक दार्शनिकता प्रमाणित हुँदैन भन्ने पनि विद्धानहरूकै मत देखिन्छ ।
डिप्रेसन, मादक पदार्थ सेवनलगायतका कारणले आत्महत्या गर्नेको संख्या बढेको छ । आत्महत्या एउटा औषधिविहीन सामाजिक रोग भएको चिकित्सक बताउँछन् । आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु र भावी जीवनका लागि असमर्थ हुनेले आत्महत्याको बाटो रोज्ने चिकित्सकको भनाइ छ । आत्महत्या नियन्त्रणका लागि विशेष सचेतना अभियान चलाउनुपर्छ । त्यसका लागि पालिकाहरूले समन्वय गरेर कार्यक्रम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीले बताए । परिवारमा कोही सदस्यले एकोहोरिनेजस्ता असामान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषक बताउँछन् ।
आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार झुण्डिएर, विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, हातहतियार औजार प्रयोग गरेर र आगो लगाएर देशभर छ हजार एक सय ४८ जनाले आत्महत्या गरेका छन् । यसअन्तर्गत झुण्डिएर मात्र पाँच हजार दुई सय ५७ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये कोशी प्रदेशमा सबैभन्दा धेरै एक हजार एक सय ८८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने बाग्मती प्रदेशमा एक हजार ६६ जना, लुम्बिनी प्रदेशमा नौ सय ७८ जना, मधेश प्रदेशमा ७८० जना, गण्डकी प्रदेशमा ५९७ जना, सुदूरपश्चिम प्रदेशमा ४२४ र कर्णाली प्रदेशमा २२४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै विष सेवन गरेर देशभर ७४२ जनाले आत्महत्या गरेका छन् । देशभर हाम फालेर ४५, पानीमा डुबेर ३१, हातहतियार प्रयोग गरेर १४ र आगो लगाएर पाँच जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्न दुरुत्साहन गरेको १६१ वटा घटना प्रहरीमा दर्ता भएको छ ।
गत आर्थिक वर्षमा देशभर झुण्डिएर, विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, हातहतियार औजार प्रयोग गरेर र आगो लगाएर कुल छ हजार ७९२ जनाले आत्महत्या गरेको मुद्दा प्रहरीमा दर्ता भएको थियो । त्यसमध्ये झुण्डिएर पाँच हजार ६६४ जना, विष सेवन गरेर एक हजार २४ जना, हाम फालेर ४१ जना, पानीमा डुबेर ३२ जना, हातहतियार औजार प्रयोग गरेर १७ जना र आगो लगाएर १४ जनाले आत्महत्या गरेका थिए । त्यस्तै, आत्महत्या गर्न दुरुत्साहन गरेको १८४ वटा घटना प्रहरीमा दर्ता भएका थिए । आर्थिक वर्ष ०७७/७८ मा देशभर झुण्डिएर, विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, हातहतियार औजार प्रयोग गरेर र आगो लगाएर कुल छ हजार ७९२ जनाले आत्महत्या गरेको मुद्दा प्रहरीमा दर्ता भएको थियो । त्यसमध्ये झुडिएर पाँच हजार ६६४ जना, विष सेवन गरेर एक हजार २४ जना, हाम फालेर ४१ जना, पानीमा डुबेर ३२ जना, हातहतियार औजार प्रयोग गरेर १७ जना र आगो लगाएर १४ जनाले आत्महत्या गरेका थिए । त्यस्तै, आत्महत्या गर्न दुरुत्साहन गरेको १८४ वटा घटना प्रहरीमा दर्ता भएका थिए ।
प्रतिव्यक्ति आत्महत्या गर्ने दरका हिसाबले नेपाल विश्वमा सातौँ र दक्षिण एसियामा श्रीलंकापछि दोस्रो बढी आत्महत्या हुने देशमा पर्दछ । विश्वमा प्रत्येक एक लाखमा ११ जनाले आत्महत्या गर्ने गर्छन् तर नेपालमा भने प्रत्येक एक लाखमा २५ जनाले आत्महत्या गर्ने गर्छन् । विगत पाँच वर्षमा नेपालमा २५ हजारभन्दा बढी मानिसले आत्महत्या गरेको सरकारी तथ्याङ्क छ । नेपालमा गएको विनाशकारी भूकम्पपछि आत्महत्या गर्नेको संख्या करिब ४१ प्रतिशतले पृद्धि भएको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा आत्महत्याबाट छ हजार २४१ व्यक्तिको मृत्यु भएको तथ्याङ्क रहेको छ । जबकि आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ७५४ जना व्यक्तिको मृत्यु भएको तथ्याङ्क थियो । नेपालमा एक दिनमा करिब १७ जनाले र प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गरिरहेको दुःखद् स्थिति रहेको छ । नेपालमा प्रतिवर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गरेको छ ।