काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरूमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । आयोजनामा के कारणले समस्या देखिएको हो, त्यसबारे पहिचान गरी तत्काल समाधान निकाल्नुपर्नेमा उनले जोड दिए । सहरी विकास मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुखहरूलाई मंगलबार मन्त्रालयमा बोलाएरै मन्त्री सिंहले समस्याग्रस्त आयोजनाका बारेमा चासो राखेका थिए । मन्त्रालयमा भएको छलफलमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन मचाकाजी महर्जन र नयाँ सहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालयअन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतीबारे जानकारी गराएका थिए । सो क्रममा उनीहरूले कतिपय आयोजनामा ठेकेदारले नियतवश काम नगर्दा समस्या देखिएको, केहीमा ठेकेदारले काम गरिरहँदा पनि केही प्राविधिक समस्या भएको र केही योजनाहरू भने अदालतमा मुद्दा परेकाले रोकिएको बताएका थिए ।
समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गीकरण गरेर कानुनसम्मत समाधानको उपाय खोज्नुपर्ने बताए । मन्त्रालयले सहजीकरण गर्दा अघि बढ्न सक्ने योजना भए तत्काल त्यसका लागि आवश्यक काम थाल्न पनि उनले विभाागीय प्रमुखहरूलाई निर्देशन दिए । ‘आयोजनामा भएको समस्या के हो ? र समाधानको उपाय के हुनसक्छ ? समस्या देखाउने मात्र नभई समाधानको विकल्पसहित तयारी गर्नुस्’, उपप्रधानमन्त्री सिंहले भने, ‘कार्यान्वयनमा लैजान नसक्ने काम छ भने त्यसमा के गर्ने कानुनसम्मत टुङ्गोमा पुग्नुपर्छ । काम गरिरहेको तर पूरा गर्न नसक्नेलाई मौका दिनसकिन्छ । तर, ठेक्का लिएर समय थप पछि थप मात्र गर्ने काम अब नहोस् । परिणाम आउने गरी काम गर्नुपर्छ ।’ उपप्रधानमन्त्री सिंहले विकास निर्माणका काम वर्षौसम्म अलपत्र पार्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने बताए । नागरिकले परिवर्तनको महसुस गर्ने गरी आयोजनाहरू अघि बढाउनुपर्ने उनको भनाइ थियो ।