माले, साउन ७
माल्दिभ्सले महामारीबाट प्रभावित पर्यटन उद्योगमा लगानी वृद्धि गर्न पर्यटनसम्बन्धी गतिविधिका लागि उद्योगहरूले लिएको जमिनको कर कमी गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले सम्प्रेषित समाचारमा उल्लेख छ । पर्यटनमन्त्रीसमेत रहेका माल्दिभ्सका आर्थिक विकास मन्त्री फायज स्माइलीलाई उद्धृत गरी लेखिएका समाचारहरूमा पर्यटन व्यवसायका लागि भाडामा लिइएका सरकारी जग्गाको भाडामा अत्यधिक समायोजन गरिने बताएको उल्लेख गरिएको छ ।
यसले कोभिड–१९ को महामारीका कारण प्रभावित पर्यटन व्यवसायका लागि विभिन्न टापूमा भएका लगानीलाई राहत पुग्ने र उनीहरूको आर्थिक सुधारमा टेवा पुग्ने स्माइलीले सामाजिक सञ्जालमार्फत बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार पर्यटनका लागि दिइएका जग्गाको भाडादर प्रति वर्गमिटर दुई अमेरिकी डलर कायम हुनेगरी सरकारले कार्यक्रम सार्वििजनक गर्न लागेको छ ।
माल्दिभ्समा पर्यटन व्यवसाय सञ्चालनका लागि भाडामा दिइएका जग्गाबाट सरकारले ठूलो मात्रामा राजश्व संकलन गर्ने गरेको छ । सन् २०१९ मा जग्गा भाडाबाट १० करोड ३६ लाख अमेरिकी डलर राजस्व संकलन गरेको थियो । माल्दिभ्समा कोभिड–१९ महामारीको कारण पर्यटन क्षेत्रमा व्यापक प्रभाब परेको छ । माल्दिभ्सको इतिहासमा पछिल्ला केही दशक यता विदेशी पर्यटकको आगमन सङ्ख्या शुन्य रहेको छ ।
माल्दिभ्समा गत मार्च २० देखि जुलाई १५ सम्म विदेशी मुलुकहरूसँगको सीमानाकाहरू बन्द गरिएका छन् । माल्दिभ्समा कोभिड–१९ बाट हालसम्म संक्रमितको संख्या दुई हजार ९ सय ९९ रहेको छ भने अझै सक्रिय संक्रमितको संख्या ६ सय १५ रहेको छ । माल्दिभ्समा दुई हजार ३ सय ६९ संक्रमित व्यक्ति निको भई घर फर्किएका छन् भने मंगलबारसम्म १५ जनाको मृत्यु भएको छ ।