काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साइपाल गाऊँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिकरूपमा उद्घाटन गरिएको उक्त समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, साइपाल गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरू, एभरेस्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो । स्नातक तहको औपचारिकरूपमा उद्घाटित यो बैंकको एक सय २९ औँ शाखा कार्यालय हो । वित्तीय पहुँचबाट टाढा रहेको साइपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका सात सय ५३ वटै स्थानीय निकायमा ‘क’ वर्गको वाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।
भौगोलिक तथा पूर्वाधार विकासकोे हिसाबले पनि अतिदुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७/८ घण्टाको पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोली सञ्चालनमा ल्याउनेजस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुसी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नुहुने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालिकाप्रति विशेष धन्यवाद व्यक्त गर्दै देशको सम्पूर्ण पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा सञ्चालन गर्न सकेकोमा बैंकले खुसी व्यक्त गरेको छ ।
उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए । साथै, अब सानोतिनोे बैंकिङ सेवाका लागि पनि सदरमुकाम धाउनुपर्ने साइपालवासीको बाध्यताको अन्त्य भएको बताउँदै अन्य सुविधाहरू पनि विस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने विश्वास व्यक्त गरे । देशकै अग्रणी बैंकको रूपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका र देशैभरे एक सय ३१ शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६७ एटीएम काउन्टर सञ्चालमा रहेका छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँदिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।