काठमाडौं । लिबर्टी कलेजको आयोजना तथा केबीए ग्लोबलको सहकार्यमा अन्तरकलेज क्रिकेट प्रतियोगिता केबीए ग्लोबल क्रिक्सल क्ल्यास हुने भएको छ । कलेजले पत्रकार सम्मलेन गर्दै प्रतियोगिता फेब्रुअरी १३ र १४ मा भेलोसिटी एरिनामा आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगिताले नेपालभरका युवा क्रिकेट खेलाडीलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ । केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन तथा लिबर्टी कलेजका मुख्य प्रतिनिधिले प्रतियोगिताको तयारीबारे जानकारी गराएका थिए । केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेसनका डाइरेक्टर शम्भु कँडेलले विभिन्न कलेजका विद्यार्थीलाई प्रतियोगितामार्फत् एउटा अनौँठो अवसर प्रदान गर्न लागिएको बताए । ‘हाम्रो लक्ष्य युवाहरूमा नेतृत्वशैली विकास, सीप विकास र आपसी सद्भाव अभिवृद्धि हो । खेलकुदले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक सन्तुलन, अनुशासन र नेतृत्व क्षमता वृद्धि गर्न मद्दत गर्छ, जसले विद्यार्थीको शैक्षिक र व्यावसायिक जीवनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ’, उनले भने ।
यस्तै, लिबर्टी कलेजका प्रिन्सिपल डा देवराज पनेरुले कलेजले प्रतियोगिताको टाइटल स्पोसरका रूपमा सहभागिता जनाउन पाएकोमा गौरव महसुस भएको बताए । कलेजले सर्वाङ्गीण शिक्षा प्रणालीलाई आत्मसात् गर्दै आएको र यसमा खेलकुद प्रमुख रहेको पनि उनले जानकारी दिए । केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेसनका ग्लोबल मार्केटिङ हेड विनोद परियारले प्रतियोगिताले खेलाडीलाई आफ्नो सिप प्रदर्शन गर्न र आत्मविश्वास बढाउन मद्दत गर्ने बताए । ‘हाम्रो उद्देश्य खेल मात्र होइन, विद्यार्थीका लागि उज्ज्वल अवसर सिर्जना गर्नु पनि हो’, उनले भने । प्रमुख संयोजक तथा केबीए ग्लोबलका सिनियर एडमिसन अफिसर प्रमेश तिवारीले प्रतियोगिताको खेल तालिका सार्वजनिक तथा ट्रफी अनावरण गरेका थिए ।