काठमाडौं ।हालै नेपाली कांग्रेसद्वारा आयोजित ‘नेपाल स्टार्ट अप’ र साना तथा मझौला व्यवसाय सम्मेलनमा सहभागी हुने मौका पाइयो । मुख्य उद्देश्य व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धन गर्ने भनिएको थियो ।सम्मेलनमा छ वटा सत्रमार्फत साना तथा मझौला व्यवसायसम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरूबीच छलफल गरेको थियो भने नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी गर्न कार्यक्रमस्थलमा ८० वटा स्टलहरू राखिएको थियो । दुई दिने कार्यक्रममा नेपाली कांग्रेसका सभापतिदेखि वरिष्ठ नेता, मन्त्रीहरू, अरू नेता कार्यकर्तालगायतको सहभगिताको अलावा एमालेका अर्थमन्त्री समेतको उपस्थिति थियो ।
नेपालमा ‘स्टार्टअप’ सम्मेलन गर्ने चलन विगत केही वर्षदेखि विभिन्न संघसंस्थाहरूले गरेको र व्यापक प्रचारप्रसार गरेको पाइन्छ । नेपाली कांग्रेसद्वारा पहिलोपटक आयोजना गरेको यस्तो नौलो कार्यक्रमलाई सकरात्मक कदमको रूपमा लिन सकिन्छ । दुई दिनको तामझाम त सफल भएको मनैपर्छ तर यतिले मात्र मूल उद्देश्य प्राप्ति होला भन्न सकिन्न । चुरो कुरो त यस कार्यक्रमबाट कतिजना व्यवसाय प्रारम्भ गर्ने उद्यमी निस्किनेमा भरपर्ने हो ।
यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले तामझामका साथ यस्तै ‘स्टार्ट अप’ कार्यक्रम गरेको प्रसंग जोड्न सकिन्छ । महानगरले २०८० को नाममा बालेनले विभिन्न सञ्चार माध्यमबाट परियोजना आह्वान गरियो । झण्डै छ सय जनाले आवेदन दिएको बुझिन्छ जसमध्ये सय जनालाई समावेश गरियो । विज्ञहरूबाट तालिम पनि दिइयो । सहभागीहरूले परियोजनासम्बन्धी प्रस्तुति पनि गरियो १५ समूहलाई छनौट पनि गरियो । तामझामका साथ गरिएको यो उद्देश्य अनुरूप अगाडि बढ्न सकेन र बीचैमा स्थगन भएको सुनियो । यसरी कतिपए योजनाविना तयारी लहडको भरमा सञ्चारमाध्यममा आएको तर पूर्णता पाउन सकेको देखिएन । यस्तो स्टार्टअपको जिम्मा कसले लिने ?नेपाली कांग्रेसले भावी दिनहरूमा स्टार्टअप कसरी प्रस्तुत हुने हो ? सुष्म ढंगले कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने देखिन्छ र कुनै हालतमा पनि अरू संघसंस्थाहरूको जस्तो असफल हुने छुट हुनै सक्दैन ।

आफूले देखेका, नबुझेका केही कुराहरूः
१. सम्मेलनका खासगरी छ वटा सत्रका लक्षित दर्शक को–को हुन् ?
२. सहभागीहरूमध्ये कतिजनाले व्यवसाय प्रारम्भ गरी उद्यमी हुने हुन् ?
३. छ वटा सत्र ‘खुल्ला’भन्दा ’बन्द’ सत्र हुनुपर्ने हो । तर सत्रहरू माछा बजारजस्तो सहभागी जुनबेला पनि आउने जाने भइरह्यो ।
४. वरिष्ठ नेता, मन्त्रीहरू सहभागी भएको राम्रो मान्न सकिन्छ तर केही समय बस्ने र जानेले गर्दा विज्ञहरूको प्रस्तुति र सहभागिता त्यति प्रभावकारी हुन सकेको देखिएन । राजनीतिको साथसाथै उद्यमी पनि हुन सकिन्छ । ताकि आफ्नो व्यवसाय पनि छ भन्न सकौँ भन्ने मान्यता राखी विगत केही वर्ष अगाडि ’स्टार्टअप’ तिर लागियो । सुरुमा कुन क्षेत्रमा हात हाल्ने छुट्याउन कठिन हुँदोरहेछ । यसै सिलसिलामा कृषि प्रधान देश भएकोले कृषि क्षेत्रमा नै केही गर्न सकिन्छ कि भन्ने सोच राखी कुरा मिल्ने साथीहरूसँग छलफल गरियो र स्थलगत अध्ययनको सिलसिलामा देशका विभिन्न १६ जिल्लाहरूको भ्रमण गरियो । अवलोकनका अलावा सम्बन्धित व्यक्तिहरूसँग छलफल पनि गरियो ।
राजनीति सँगसँगै ‘स्टार्टअप’ : के नेपाली कांग्रेसले अवलम्बन गर्न सक्ला ?
नेपालमा कफी, एक नगदे बालीको रूपमा राम्रो सम्भावना भएको देखियो । कफी उत्पादन गर्न नेपालको आठ सयदेखि १३ सय मिटरको उचाइमा अवस्थित पूर्व उतार मोहडा फर्केको पानी नदिने भिरालो जमिन उपयुक्त मानिँदो रहेछ । नेपालमा पूर्व मेचीदेखि महाकालीसम्म यस्तो जग्गाको कमी नरहेको नेपालको भू–बनावटले प्रस्ट देखाऊ छ ।
नेपाली कफीको इतिहास हेर्ने हो भने यहाँ उत्पादन हुने ‘अरेबिका’ जातको कफी विश्वमा प्रख्यात भइसकेको रहेछ । यसको प्रमुख कारण नेपाली काफीको स्वाद, वासना, रंग, रसायनविहीन अर्गानिक खेती प्रणाली र उच्च हिमालको काखमा अवस्थित भू–भाग भएकाले मान्न सकिन्छ ।अध्ययनकै सिलसिलामा नेपाली चियाको पनि अन्तर्राष्ट्रियस्तरमा निर्यात गरी रहेको र राम्रो आम्दानीको स्रोत भएको देखियो । चिया खेतीतर्फ पनि साझेदारीमा मिलेर काम गर्ने प्रस्ताव आएकाले यस क्षेत्रमा पनि संलग्न हुने निधो गरियो र सोहीअनुसार नेपाल सरकारको सम्बन्धित निकायमा आधिकारिक कम्पनी दर्तादेखि कार्यालय स्थापना गरी काम सुचारु गरियो । आफ्नो लागि पूरै नयाँ विषय भए पनि गर्न सकिन्छ र गर्नुपर्छ भन्ने मान्यता रही रह्यो र जोखिम लिन पनि पछि परिएन ।
पौडी खेल्न पानीमा नदुबेसम्म थाहा हुँदैन भनेझै कार्य क्षेत्रमा उत्रिँदा अनेकौ सोच्दै नसोचेका चुनौती एवं परिस्थितिको सामना गर्नुपर्ने भयो । स्कुल पढेदेखि नेपाल कृषि प्रधान देश भनेर पढेको थिएँ, सुनेको थिएँ । नेताहरूले ठूलोठूलो स्वरमा ‘देश विकासको आधार कृषि विकास’ भन्दै भाषण गर्ने गरेको आजसम्म पनि कुनै कमी आएको देखिँदैन । विडम्बना हालसम्म पनि प्राथमिकता पर्ने नसकेको क्षेत्र हो कृषि भन्ने देखियो । कृषिमा छुट्याइने बजेट अरू मन्त्रालयभन्दा अतिकम हुनु, विनियोजित रकम पनि व्यापक दुरुपयोग हुनु, पहुँच हुनेहरूले कृषक नै नभए पनि कागत पत्र मिलाई पैसा निकासी गरी नेता कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार हुँदो रहेछ । साँच्चिकै कृषकहरू भने टुलुटुलु हेर्न बाध्य हुनुपरेको अवस्था देखियो । बैंकिङ कारोबारबाट ऋण लिन लामो प्रक्रिया र सहज नहुनु, आफ्नो स्रोतबाट मात्र व्यावसायिक खेती गर्न आँट नगर्नु, जोखिम लिन नसक्नु, उत्पादित वस्तुको बजार नहुनु र मूल्य नपाउनु, सरकारबाट चाहिने प्राविधिक सहयोग पाउनु नसक्नु आदि कृषकहरूले झेल्नुपरेको छ । चिया विकासमा पूर्वी क्षेत्रका जिल्लाहरूमा केही राम्रो भए पनि अरू जिल्लाहरूमा सरकारले ध्यान दिन सकेको देखिँदैन ।
कफीसम्बन्धी त सरकारी संस्थामा उच्चस्तरको प्राविधिक नै नहुनु, उच्च नश्लको बीउ उपलब्ध नहुनु, अनुसन्धान र विकास पक्ष कमजोरी अथवा प्राथमिकतामा नपर्नुले गर्दा परम्परागत कृषिमा सीमित हुन बाध्य हुनु, कृषि विकासमा चाहिने यान्त्रिक मेसिनरी औजारको प्रयोग गर्न नसक्नु नै विद्यमान चुनौती रहेछ कृषि क्षेत्रमा ।यसको अलावा स्थानीय कर्मथलोमा विभिन्न प्रकारका अप्ठ्याराहरूको सामना गर्नुपर्ने अनुभव गरियो । मुख्यतया काम गर्ने युवाहरूको कमी, गाउँमा दश कक्षा पास गरेपछि कुटो कोदालो समात्न नहुनु, बाह्र कक्षा पास गरेपछि गाउँमा बस्न नहुनुजस्ता नयाँ लहर चल्न थालेको, पढ्ने र कामको खोजीमा सहरमुखी भई गाउँ घरबाट पलायन भएको अवस्था देखियो । कृषि विकासको लागि चाहिने नीति, पूर्वाधारजस्तै सिँचाइ, बाटो, बिजुली, समयमा मलखाद आदिको कमी हुनु । स्थानीय सरकारको पनि प्राथमिकतामा नपर्नु ।
बाहिरी जिल्लाबाट लगानीकर्ताहरूलाई स्थानीयबाट अनावश्यक दुःख दिने, चन्दा माग्ने, धम्की दिने र धनजनको सुरक्षाको सामना गर्नुपर्ने अवस्था आएको देखियो, सुनियो । यी आदि कारणले गर्दा लगानीकर्ताहरू कृषितर्फ आकर्षित हुन नसकेको देखियो र सुन फलाउने जग्गा बाँझो, बाँदर खेल्ने जमिनमा परिणत भएको हेर्नुपरेको छ ।
सरकारलगायत राजनीतिक दलका नेताहरूले स्थानीयस्तरमा कृषकहरूले भोगेका चुनौतीहरूको ज्ञान नभएको त पक्कै होइन होला । तर सुशासनको कमी, राम्रो व्यवस्थापन र समस्या हल गर्नेतिर प्राथमिकतामा पर्न सकेन । सरकार र दलका नेताहरू यसतर्फ संवेदनशील हुनैपर्छ । यदि नहुने हो भने कृषकहरू उँभो लाग्न सक्दैसक्दैन र देशले कृषि क्षेत्रबाट पाउने ठूलो आम्दानी गुमाउनुपर्ने हुन्छ ।
राजनीति विशुद्ध सेवा हो धनआर्जन गर्ने संस्था होइन । तर नेपालका अधिकांश नेता कार्यकर्तालाई प्रश्न गर्दा धेरैले राजनीति नै पेशा अथवा व्यवसाय भन्ने गरिन्छ । जुन कुनै हालतमा राम्रो मान्न सकिँदैन । साँचो अर्थमा नेता र कार्यकर्ताले कुनै न कुनै काम अथवा व्यवसाय गरेको र पारदर्शी हिसाबले आयस्रोत देखाउन सक्ने हुनुपर्छ जुन हुन सकेको देखिँदैन । अधिकांशजसो गाउँभन्दा सहरमुखी भएको र गाउँघरमा नेतृत्व दिन सक्ने युवाविहीन हुन पुगेको छ ।
नेपाली काँग्रेसले स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनको सुरुवात गरिसकेकाले व्यवसाय प्रारम्भ गर्ने उद्यमीहरू अरू होइन आफ्नै, खासगरी तरुण दल र नेविसंघका नेता कार्यकर्ताहरूलाई नै परिचालन गरी, सहरमा होइन आ–आफ्नो गाउँघर फर्किन आह्वान गर्न सके, उद्यमी बन्न आह्वान गर्न सके, आवश्यक तालिम गरी प्रोत्साहन गर्न सके, व्यवसायको प्रवद्र्धन गर्न सके यो सम्मेलनको वास्तविक उद्देश्य प्राप्त भएको मान्न सकिन्छ र देशले आर्थिक क्रान्तिको माग गरेकोमा ठूलो टेवा पुग्ने थियो । के नेपाली काँग्रेसलगायत अरू दलहरूले यस्तो नीति अवलम्बन गर्न सक्ला ?