काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि फागुन १ गतेबाट एक महिने नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मृगौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) परीक्षण अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सो अभियान सञ्चालनको लागि गत मंसिर १६ गते ‘नसर्ने रोगहरू पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो । ‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजनाअन्तर्गत अभियान थालिएको हो,’ मन्त्री पौडेलले भने, ‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ ।’
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मुगौलासम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ । ‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ,’ प्रवक्ता बुढाथोकीले भने । नेपालमा नसर्ने रोगहरूको कारण बिरामी हुने एवं मृत्यु हुनेहरूको अनुपात बढ्दै गइरहेको छ । नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको तथ्याङ्क छ ।