यता बैंकिङ कसुरका अपराध बढिरहेका बेला खराब कर्जाको अवस्था पनि झन्झन् उकालो लागेको देखियो । बैंकिङ कसुरका अपराधमा खराब कर्जाको अंश पनि जोडिएको हुन्छ । केही पहिले तीन दर्जनजति बैंकका सीईओहरू कारबाहीमा परेका थिए । यद्यपि त्यसबेला उनका कारबाही नरम थिए । अर्थात् उनले चेतावनी मात्रै पाएका थिए । कारबाही भएकामध्ये एउटा कर्णाली विकास बैंकमा देखिएका कसूर त डरलाग्दा नै थिए भन्दा पनि हुन्छ । सञ्चालकहरूले बैंकको अवस्था राम्रो रहेको देखाउन जे–जस्ता कर्तुत गरेको देखियो । त्यो आफैँ एउटा डरलाग्दो अवस्था थियो । यस्तो काम बैंकिङ व्यवस्थाका लागि खराबकर्जाभन्दा झनै खराब हो । कतिपय अवस्थामा खराब कर्जा नियतवशका नहुन सक्छन् । देशको समग्र आर्थिक स्थितिले पनि ऋणीहरूलाई बाध्यतावश खराब बनाएको हुन सक्छ । तर बैंकका तथ्याङ्कहरूमा छेडखानी गर्नु, नराम्रो अवस्थालाई राम्रो देखाउनु नियतवश गरिएका कर्तुत हुन् । यस्तो कामलाई कसैले पनि संरक्षण गर्न थालेमा त्यसले योभन्दा झन् खराब अवस्थालाई निम्त्याएको भनेर बुझ्नुपर्छ । तर यसो भनेर खराब कर्जाको बढ्दो ग्राफलाई सामान्यीकरण गर्नु पनि एक प्रकारको बैकिङ कसुर नै माने हुन्छ । यस्तो कर्जा बढ्नु भनेको सम्बन्धित सम्बन्धित अधिकारीहरू आफ्नो संस्थाप्रति जवाफदेही नभएको अवस्था पनि हो । नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्कअनुसार विगत वर्षका र महिनाका तुलनमा खराब कर्जा झन्झन् बढिरहेकै छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा ५४ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गरेका कुल कर्जा रकम ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँमध्ये दुई खर्ब ६७ अर्ब आठ करोड ८३ लाख ५० हजार रुपैयाँ खराब कर्जामा गए छ । यो भनेको चार दशमलव ९२ प्रतिशत हो । यसमा चिन्ता गर्नुपर्ने विषय केहो भने झन्झन् पछिल्ला दिन यस्तो कर्जाको मात्रा घटनुपर्नेमा बढिरहेको छ । यसले समग्र बैंकिङ प्रणालीमै खतरा आइलाग्ने हुन सक्छ । खराब कर्जाको उल्लेखित अंक गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव १९ प्रतिशत अर्थात् ७७ अर्ब ६५ करोड ४३ लाख रुपैयाँले बढी हो । त्यो वर्षको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ७८ करोड ६६ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ७३ प्रतिशत अर्थात् एक खर्ब ८९ अर्ब ४३ करोड ४० लाख ५५ हजार रुपैयाँ खराब कर्जा देखिएका थियो  । उल्लेखित विवरणले अघिल्लो वर्षको भन्दा ७७ अर्ब ६५ करोड ४३ लाख रुपैयाँको खराव अंक बढेको देखिन्छ । झण्डै तीन खर्बको अंक त यो वर्षको खराब कर्जामा परिणत भएको छ । लगानीको हिसाबले सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले गत पुससम्म ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा खराब कर्जाको मात्रा चार दशमलव ७३ प्रतिशत अर्थात् दुई खर्ब २७ अर्ब ४० करोड ४९ लाख १० हजार रुपैयाँ हुनु राम्रो होइन । यसैगरी १७ वटा विकास बैंकहरूले गएको पुस मसान्तसम्म पाँच खर्ब १७ अर्ब ७४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ११ प्रतिशत अर्थात् २६ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खराब कर्जा देखियो । यो भनेको अघिलो वर्षको तुलनामा एक दशमलव ४८ प्रतिशत अर्थात् आठ अर्ब ५१ करोड ६९ लाख रुपैयाँले बढी हो । यी विवरणहरूले खराब कर्जा घटाउने लक्ष्यमा चुनौती थपेको देखाउँछन् । खराबकर्जा मन्दीको संकेत पनि हो । यता निरन्तर व्याजदर घट्दै जानु र उता खराब कर्जा पनि बढ्दै जानु अर्थतन्त्रका लागि राम्रो संकेत होइन । नियमनकारी निकायको ध्यान जाओस् ।