राजधानीमा सातौँ नेपाल एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्तरूपमा फागुन दुईदेखि चार गतेसम्म भृकुटीमण्डपमा सो एक्स्पो आयोजना गर्न लागेका हुन् ।
एक्स्पो नेपालभित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरूको प्रदर्शनी स्टल रहने छ । यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्धकको मुख्य भूमिकाको रूपमा रहेको छ भने सहयोगी संस्थाहरूमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा राष्ट्रिय कृषक समूह महासंघ नेपाल रहेका छन् । प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपन्छीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकको विश्वास छ । सबैको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने जनाइएको छ ।
प्रदर्शनीमा कृषिका विभिन्न विधाहरूजस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसीपालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलगअलग समूह स्टल रहने छन् । मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासोअनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था मिलाएको जनाइएको छ । आयोजकका अनुसार यसलाई ‘प्रदर्शनीभित्रको प्रदर्शनी’ पनि भन्न सकिन्छ ।