अनलाइन बाल सुरक्षामा कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद् र ५० भन्दा बढी सहकर्मी संस्थाहरूसँगको सहकार्यमा सुरक्षित इन्टरनेट दिवस २०२५ को अवसरमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ ।यी संस्थाहरूले बालबालिका, युवा र समुदायलाई सुरक्षित इन्टरनेट प्रयोग र अनलाइन जोखिमहरूबाट जोगिने उपायहरू सिकाउन देशका विभिन्न स्थानमा डिजिटल सुरक्षा कार्यक्रमहरू सञ्चालन गरेका थिए ।
सन् २०१९ देखि चाइल्डस्फनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको राष्ट्रिय सचिवालय र संयोजकको रूपमा कार्य गर्दै यस दिवसको प्रवद्र्धन गर्दै आएको छ । यस वर्ष ५० भन्दा बढी संस्थाहरूले सुरक्षित इन्टरनेट दिवस मनाउन चाइल्डसेफनेटसँग ऐक्यबद्धता गरेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, सुनसरी, मोरङ, तनहुँ, कास्की, नवलपरासी, अछाम र बाजुरा जिल्लाहरूमा अनलाइन सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी सुरक्षित इन्टरनेट दिवस मनाइएको हो । साथै, आगामी दिनहरूमा थप जिल्लाहरूमा पनि कार्यक्रमहरू गरिने जानकारी सहकर्मी संस्थाहरूले दिएका छन् ।
अनलाइन बाल सुरक्षामा जिम्मेवार निकायहरूबाट पर्याप्त काम नभएको जानकारी दिँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशी सुरक्षित इन्टरनेट दिवसले अनलाइन सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने अवसर प्रदान बताए । यस दिवसले बालबालिकाको डिजिटल सुरक्षालाई प्राथमिकता दिन तथा यस क्षेत्रमा बजेट वृद्धि गर्न बहु–क्षेत्रीय जिम्मेवार निकायहरूसँग वकालत गर्ने अवसर पनि दिने उनको भनाइ छ ।